Tuesday, February 18, 2020

सीता एयरलाइन्सद्वारा तीन विमानस्थलमा परीक्षण उडान

प्रकाशित मिति: 2019/12/04

१८ मंसिर, ताप्लेजुङ । सीता एयरले १ नं प्रदेशका तीनवटा विमानस्थलमा आज परीक्षण उडान गरेको छ । ताप्लेजुङको सुकेटार, खोटाङको लामिडाँडा र ओखलढुङ्गाको रुम्जाटारमा परीक्षण उडान गरेको हो ।

आगामी मंसिर २७ गतेदेखि ताप्लेजुङस्थित पाथीभरा र खोटाङको हलेसीमा तीर्थयात्री ओहोरदोहोर गराउने योजनाका साथ परीक्षण उडान गरिएको एयरलाइन्सका प्रबन्धक रिजेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तीनवटै ठाउँमा सफल परीक्षण गरिएको छ ।

परीक्षणका क्रममा प्रदेश राजधानी विराटनगरबाट २० मिनेटको समयमा ताप्लेजुङको सुकेटार विमानस्थलमा जहाज अवतरण भएको थियो । काठमाडौँ बाट उडेको जहाज रुम्जाटार र त्यसपछि लामिडाँडा गएको थियो ।

लामिडाँडाबाट सिधै ताप्लेजुङ आउने प्रयास भए पनि मौसमका कारण विराटनगर अवतरण भई मौसम अनुकूलपछि त्यहाँबाट सुकेटार आएको नागरिक उड्डयन प्राधिकरण सुकेटार विमानस्थलका प्रमुख रुपेश मुरारकाले जानकारी दिनुभयो ।

पाथीभरा र हलेसीमा तीर्थयात्री ओसार्ने योजनाअनुसार परीक्षण भएको र यसको नेतृत्व १ नं प्रदेशको विराट होलिडे ग्रुपले गरेको जनाइएको छ । दुई महिनासम्म प्याकेजमा चलाउने र त्यसपछि नियमित उडान गर्ने उद्देश्य रहेको एयरलाइन्सले जनाएको छ ।

यस अवधिमा विराटनगरबाट सुकेटारसम्म जहाजमा र त्यहाँबाट हेलिकोप्टरमा पाथीभरा दर्शनका लागि तीर्थयात्री लैजाने बताइएको छ ।

तपाईंको बिचार