Wednesday, June 26, 2019

समिट एयरले धनगढीदेखि अछामको साँफेबगरसम्म नियमित उडान भर्ने

प्रकाशित मिति: 2019/03/22

८ चैत्र, अछाम । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा सुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो ।

यस क्षेत्रका यात्रुको सहजताका लागि आजदेखि धनगढीदेखि साँफेबगरका लागि नियमित उडान भर्न सुरु गरिएको समिट एयरका अछाम प्रतिनिधि दीपक दुवालले जानकारी दिए । समिट एयरमा धनगढी–साँफेबगरसम्म १७ मिनेटमै यात्रा गर्न सकिने भन्दै उनले यात्रुको चाप र मागलाई मध्यनजर गरी हप्तामा सातै दिन उडान भर्न सकिने बताए ।

धनगढीदेखि साँफेबगरसम्मका लागि तीन हजार ३५० रूपैयाँ भाडादर कायम गरिएको छ । धनगढी–साँफेबगर नियमित हवाई सेवा सञ्चालन हुँदा अछामसहित बाजुरा र डोटी जिल्लाका यात्रुलाई पनि सहज हुने भएको छ ।

यसअघि नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि साँफेसम्म निरन्तर दोहोरो उडान सञ्चालन गरिरहेकामा फागुन २२ गतेदेखि समिट एयरले पनि नेपालगञ्जदेखि साँफेबगर उडान सुरु गरेको थियो । नेपाल एयरलाइन्सले हरेक आइतबार र बिहीबार उडान गर्दै आएको छ ।

तपाईंको बिचार