Thursday, April 27, 2017  |    

श्रीमतीको लागि चन्द्रशमशेरले देश निकाला गरेका थिए आफ्नै छोरालाई

प्रकाशित मिति: 2016/06/09

श्री ३ चन्द्रशमशेर धार्मिक स्वभावका थिए । धर्मप्रति रुचि मात्र होइन, आस्था र विश्वासका साथ अनुसरण पनि गर्थे । धार्मिक आस्थामा आघात पुगेको भनेर उनले आफ्नी कान्छी श्रीमतीपट्टिका जेठा छोरा विष्णुशमशेरलाई देश निकाला गरेको घटनाले पनि उनको धार्मिक कट्टरता पुष्टि गर्छ । विष्णुशमशेर त्यतिबेला श्री ३ को रोलक्रममा थिए ।

वास्तवमा विष्णुशमशेरको स्वभावै यस्तो थियो कि उनी बेलाबेला चर्चामा आइरहन्थे, श्रीमतीसँगको खटपटका कारण होस् वा विदेशी युवतीसँगको सम्बन्धका कारण । श्रीमतीसँगको खटपट उत्कर्षमा पुगेपछि उनले औपचारिक रूपमा सम्बन्ध तोडे । त्यसपछि उनी फ्रेन्च युवतीहरूका साथ लागेर कहिले कलकत्ता, कहिले बम्बई त कहिले पेरिस पुग्थे र मोजमस्ती गर्थे । लामो समय त्यतै बिताउँथे ।
त्यहीबीचमा चन्द्रशमशेरको दरबारमा विष्णुशमशेरका एक सहयोगीका नाममा बेनामे उजुरी दर्ता गरियो, जसको बेहोरा बिन्तीपत्रको भाकामा लेखिएको थियो । ‘जर्नेल विष्णुशमशेरले कलकत्ताको फ्रेन्च रेस्टुराँ फिर्पोमा बसेर गाईको मासुबाट बनेका परिकार खाने गरेको जानकारी महाराजको पाउमा चढाउन चाहन्छु,’ उजुरीमा थियो ।

यो उजुरी परेपछि हल्लीखल्ली नै मच्चियो । चन्द्रशमशेरले आफ्ना मानिसहरू लगाएर त्यस कुराको छानबिन सुरु गरे । जब उनीसामु विष्णुशमशेरले गाईको मासुका परिकार खाने गरेको तथ्यरप्रमाण जुट्यो, तब छोरालाई मुलुक प्रवेशमै रोक लगाइदिए । र, उर्दी गरे, ‘श्री ३ को रोलक्रमबाट विष्णुशमशेरलाई बेदखल गरेको हुकुम बक्सन्छौँ ।’ राणा शासनकाल न हो ! आरोपीले सफाइ दिने र आफ्ना कुरा राख्ने मौका नै कहाँ पाउँथे र † त्यसैले त्यस अवधिलाई हुकुमी शासन भनिएको हो ।
त्यस घटनापूर्व नै चन्द्रशमशेरले आफ्ना सबै छोराछोरी र श्रीमतीहरूलाई एकरएक करोड रुपियाँ दामासाहीले बाँडेका थिए भने जायजेथा पनि अंशबन्डा गरिदिएका थिए । विशेष माया गरेर कान्छा छोरा मदनशमशेरलाई चार करोड रुपियाँ दिएको प्रसंग त्यतिबेला खुबै चलेको थियो । देश निकाला र रोलक्रमबाट झिके पनि विष्णुशमशेरलाई अंश र नगदबाट भने वञ्चित गरेनन् ।

विष्णुशमशेर हकी र जुझारु स्वभावका त थिए नै, त्यसभन्दा बढी स्वच्छन्द जीवनका पक्षपाती थिए । उनीसँग काठमाडौँमै मेरो देखभेट भए पनि कुराकानी र नजिकको सम्बन्धचाहिँ थिएन । चन्द्रशमशेरको निधनपछि विष्णुशमशेरकी आमा काशीवास गइन् । उनी आमालाई भेट्न त्यहाँ बरोबर आउँथे । त्यस क्रममा उनीसँग मेरो सम्बन्ध बाक्लियो । उनको बडो गजबको सोख थियो, तीनरतीन महिनामा युवती फेर्ने । त्यस्ता युवतीका निम्ति मासिक तीन लाख रुपियाँसम्म खर्च गर्ने गरेको उनी गौरवका साथ बताउँथे ।

देश निकालामा परेकाले आफ्नो जीवनकालमा उनी कहिल्यै नेपाल फर्केनन् । जब मेरो विवाह बनारसमा हुने टुंगो लाग्यो, उनी मेरो जन्ती टोलीमा प्रमुख अतिथिका रूपमा एक फ्रेन्च युवतीका साथ सहभागी भए । त्यसपछि उनीसँगको मेरो सामीप्य झन् बढेर गयो ।

विवाहको दुई दिनअघि विष्णुशमशेरले म र मेरा पिताजीलाई सँगसँगै लिएर मेरी श्रीमतीका निम्ति भनेर नौ सय रुपियाँ पर्ने चाँदीको धागोले बुनिएको रेशमी साडी उपहार दिएका थिए । बनारसका विख्यात् सहनाइ वादक उस्ताद विशमिल्लाह खाँ सहनाइ बजाइरहेका थिए । त्यही विवाहका अवसरमा तबलावादक कन्टे महाराजले तबलाको स्वरमा चन्द्रशमशेरको स्वर निकालेर सुनाउने अनुमति मागे । विष्णुशमशेरले सहर्ष स्वीकृति दिए । बाबुको आवाज सुन्दा उनी ज्यादै भावुक देखिए । कण्टे महाराजलाई चार सय र खाँलाई तीन सय रुपियाँ बक्सिस पनि दिए ।

त्यसपछि विष्णुशमशेर वैदिक विधिपूर्वक हुन लागेको विवाह कार्यक्रम फ्रेन्च युवतीसित बसेर केही समय हेर्न चाहन्थे । तर, मेरा गुरु धरणीधर भट्टराईले ‘गोमांस खानेहरूसामु वैदिक मन्त्रोच्चारण गर्न नमिल्ने’ ढिपी गरे । अतिथिहरूलाई तिरष्कार गर्न नहुने कुरा पिताजीले सम्झाएपछि उनको इज्जत राख्नकै निम्ति भए पनि संस्कृतका केही श्लोक सुनाइएको थियो । उनीहरू त्यस कार्यक्रमस्थलबाट बाहिरिएपछि वैदिक विधिपूर्वक मेरो विवाह कार्यक्रम सम्पन्न गरिएको थियो ।

वैवाहिक समारोहकै दौरान भएको भलाकुसारीमा मैले उनैका मुखबाट सुन्ने उद्देश्यले देश निकाला हुनुको कारणबारे सोधेको थिएँ । ‘परिबन्दले आफूू देश निकालामा परेको’ बताउने विष्णुशमशेर आफ्ना बुबाको त्यो कदमप्रति असहिष्णु र आलोचक भने देखिँदैनथे । अन्जानमै गाईको मासुका परिकार खान पुगेको पनि उनले सुनाए । यो कुरा उनले उपन्यासकार डायमनशमशेर राणासँग पनि गरेका रहेछन् । राणाले यो कुरा ००८ सालमा हामी सँगसँगै जेलमा बस्दा मलाई सुनाएका थिए । युरोप बस्ने विष्णुशमशेरको योजना र इच्छा भने पुरानै रहेछ ।

विष्णुशमशेर लामो समय पेरिसमा बसे पनि उनको जीवनको उत्तराद्र्ध स्पेनमा बित्यो । बार्सिलोना दरबारमै उनको निधन भएको थियो । उनको शव विशेष विमानद्वारा बनारस ल्याइएको थियो । उनको शवयात्रामा बनारसको नेपाली समुदाय सर्लक्कै उत्रियो । बनारसको मणिकर्णिका घाटमा उनको दाहसंस्कार गरिएको थियो ।


 साभार ः नेपाल

तपाईंको बिचार