Monday, June 26, 2017  |    

डिम्याट कारोबारमा सात कम्पनी

प्रकाशित मिति: 2015/04/10

चैत २६, काठमाडौं । डिम्याट (विद्युतीय अभिलेख गरिएका) शेयर कारोबारका लागि चरणबद्ध रूपमा कम्पनीहरू छनोट गरिरहेको सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले दोस्रो चरणका लागि सात कम्पनी छानेको छ । सीडीएससीले दोस्रो चरणमा एस डेभलपमेण्ट बैङ्क, एभरेष्ट इन्स्योरेन्स, नबिल बैङ्क, युनाइटेड फाइनान्स, सनराइज बैङ्क, बुटवल पावर कम्पनी र भिबोर विकास बैङ्कको डिम्याट कारोबार शुरू गर्ने भएको हो । ती कम्पनीको शेयर चैत २९ गतेदेखि कारोबार गर्दा खरीदकर्ताले शेयर पाउन अनिवार्य रूपमा डिम्याट एकाउण्ट खोलेको हुनुपर्छ । चैत २९ पछि खरीदकर्ताले डिम्याट एकाउण्टमा मात्र शेयर पाउनेछन् ।

त्यस्तै, वैशाख १५ गतेदेखि भने ती कम्पनीहरूको डिम्याट भएका शेयरको मात्र कारोबार र राफसाफ गरिने भएको छ । कागजी प्रमाणपत्रका रूपमा रहेको यी कम्पनीको शेयर यो मितिदेखि भने कारोबार गर्न पाइने छैन । त्यसका लागि लगानीकर्ताले डीपी (डिपोजिटरी पार्टिसिपेण्ट) कम्पनीहरूमा गएर डिम्याट एकाउण्ट खोलेर शेयर डिम्याट गराउनु पर्ने हुन्छ ।  

तोकिएका कम्पनीहरूको शेयर बीटी (ब्ल्याङ्क ट्रान्सफर)मा वा अनुसूचीका रूपमा रहेको भए वैशाख १४ गतेभित्र विक्री गरिसक्न पनि सीडीएससीले लगानीकर्तालाई आह्वान गरेको छ । यदि वैशाख १४ गतेभित्र विक्री नगरेमा लगानीकर्ताले यस्ता शेयरको कारोबार गर्न पाउने छैनन् । यस्ता कारोबार गर्न लगानीकर्ताले शेयर खाता खोलेर डिम्याट गराएको हुनुपर्छ ।

सीडीएससीले पहिलो चरणमा भने शिखर इन्स्योरेन्स, ग्लोबल आईएमई बैङ्क, युनिलिभर नेपाल, हिमालयन जनरल इन्स्योरेन्स, महालक्ष्मी फाइनान्स, एभरेष्ट फाइनान्स र तारागाउँ रिजेन्सी छनोट गरेको थियो । चैत २२ गतेदेखि नै ती कम्पनीको शेयर खरीदकर्ताले डिम्याटमा शेयर पाउने व्यवस्था गरिएको छ ।  तर, वैशाख ६ गतेपछि ती कम्पनीको कागजी रूपमा रहेको, बीटीमा र अनुसूचीमा रहेको शेयर कारोबार गर्न नपाइने व्यवस्था छ । यसरी दुई चरणमा तोकिएकाबाहेक अन्य कम्पनीका लागि भने नयाँ व्यवस्था नहुँदासम्म बीटी र अनुसूचीमा रहेको शेयर कारोबार खुला रहनेछ । तर, यी बाँकी कम्पनीको शेयर नामसारीमा पठाउँदा भने लगानीकर्ताले डिम्याटका रूपमा मात्र पाउने छन् ।

दर्ता भएका कम्पनीहरूलाई ३ महीनाभित्र चरणबद्ध रूपमा डिम्याट कारोबारमा लैजाने रणनीति सीडीएससीले लिएको छ । हाल सीडीएससीमा ९६ कम्पनी दर्ता छन् भने ३९ कम्पनी दर्ता प्रक्रियामा रहेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरूले अनिवार्य रूपमा सीडीएससीमा पनि दर्ता हुनुपर्ने व्यवस्था छ । हाल नेप्सेमा करीब २ सय ३६ कम्पनी सूचीकृत रहे पनि धेरै कम्पनी सीडीएससीमा दर्ता हुन गएका छैनन् ।

तपाईंको बिचार