Thursday, October 24, 2019

प्रतिक्यारेट ३० रुपैयाँले बढ्यो अण्डा

प्रकाशित मिति: 2019/07/07

असार २२, काठमाडौं । नेपाल अण्डा उत्पादक सङ्घले शनिबार (हिजो) बाट ठूलो अण्डामा प्रतिक्यारेट २५ र मध्यम साइजको अण्डामा प्रतिक्यारेट ३० रूपैयाँ बढाइएको छ । अब किसानहरूले ठूलो अण्डामा २ सय ८० रूपैयाँ पाउँनेछन् भने मध्यम साइजको अण्डामा प्रतिक्यारेट २ सय ३० रूपैयाँ पाउँनेछन् । यसअघि भने ठूलो अण्डामा २५५ रुपैयाँ र मध्यम साइजको अण्डामा २ सय रुपैयाँ प्रतिक्यारेट पाउने गरेका थिए । 

अण्डा उत्पादक संघले तोकेको मूल्य अनुसार व्यापारीले अण्डामा प्रतिक्यारेट ५ रुपैयाँ नाफा खानुपर्ने छ । जस अनुसार उपभोक्ताले प्रतिगोटा १३ रूपैयाँमा अण्डा पाउनुपर्ने देखिन्छ । तर हिजोबाट मात्र प्रतिगोटा १३ रुपैयाँ पर्ने गरि बढाइएको भए पनि उपभोक्ताले भने यस अघि नै १५ रुपैयाँ गोटासम्ममा तिरेर किन्ने गरेको गुनासो गरेका छन् । 

१५ रुपैयाँ गोटा अण्डा किन्दै आएकी भक्तपुरकी हरीमाया तामाङ भने अण्डाको मूल्य बढेको सुन्दा छक्क परेको बताउँछिन् । अब मूल्य बढेको बहानामा व्यापारीलाई १५ भन्दा पनि महंगो मूल्य तिर्नुपर्ने उनको चिन्ता छ ।

मूल्य निर्धारण भए अनुसारले उपभोग्य वस्तु उपभोक्ताको थालीसम्म पुगे नपुगेको अनुगमन गर्ने जिम्मेवारी पाएको सरकारी निकायले आफ्नो काम प्रभावकारी तरिकाले नगर्दा यस्तो समस्या देखिएको उपभोक्ताकर्मी माधाव तिमल्सिनाको भनाइ छ ।

अण्डा उत्पादक सङ्घले उत्पादन र बजारको मागलाई सन्तुलन गराउन मूल्य बढाएको बताइरहँदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक सङ्घले भने अण्डाको मूल्य निर्धारण गर्नु नै नियम संगत नभएको बताएको छ ।

तपाईंको बिचार