Friday, October 18, 2019

सरकारले लक्ष्य अनुसार राजश्व संकलन गर्न नसक्ने

प्रकाशित मिति: 2019/07/15

असार ३०, काठमाडौं । चालूआर्थिक वर्ष सकिनै लाग्दासम्म पनि सरकारले अन्धाधुन्ध बजेट खर्च गरिरहेको छ । त्यसै अर्कोतिर लक्ष्य अनुसार राजश्व संकलन गर्ने दबाबमा पनि छ । राजश्व विभागका अनुसार अझै १ खर्ब ४१ अर्ब बढी राजश्व असुली गर्नपर्ने दबाब सरकारसँग छ ।

सरकारले चालु आर्थिक वर्षको संशोधित लक्ष्यअनुसार ८ खर्ब ३१ करोड ३१ लाख रुपैयाँ राजश्व उठाउनु पर्ने छ । तर, त्यो लक्ष्य भेटाउन निकै हम्मेहम्मे पर्ने देखिन्छ । सरकारले १ खर्ब ४१ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ राजश्व असुले मात्र लक्ष्य पूरा हुनेछ ।

महालेखा नियन्त्रकको कार्यलयले आइतबारसम्म ६ खर्ब ६९ अर्ब ६९ करोड ४४ हजार रुपैयाँ राजश्व उठेको जनाएको छ । जुन लक्ष्यको ८२ दशमलव ९६ प्रतिशत मात्र हो । विभागले आइतवार मात्रै ११ करोड ५२ लाख रुपैयाँ राजश्व उठाएको छ । आन्तारिक राजश्व विभागलाई राजश्व लक्ष्य भेटाउन अर्थमन्त्रालयले दवाव दिइरहेको छ ।

सरकारी लेखाजोखा गर्ने महालेखापरीक्षकको कार्यलयले राजश्व लक्ष्य भेटाउन गैरकानूनी काम गर्न सक्ने तर्फ समेत संकेत गरेको छ । लक्ष्य पूरन गर्नका लागि राजश्व विभागले विभिन्न कम्पनीसँग असोज मसान्तसम्म बुझाउन पर्ने राजश्व अग्रिम स्वघोषणा गर्न लगाउने प्रवृत्ति यसअघिका वर्षमा देखिन्थ्यो ।

यस वर्षपनि विभागले कम्पनीहरुसँगको मिलेमतोमा राजश्वको अग्रिम स्वघोषणा गर्न लगाउने देखिएको छ । जुन राजश्व लक्ष्य विपरित हुने छ । आन्तरिक राजश्व विभागले कर तिर्नुपर्ने व्यवसायीहरुबाट २३ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गर्न सूची नै तयार गरी ताकेता गरिरहेको छ ।

अर्कोतर्फ अर्थमन्त्रालयले राजश्व चुहावट नियन्त्रणका लागि कडाई गरेको छ । यसबीचमा राजश्व छली गर्ने व्यवसायीलाई कारावाहीको दायारामा समेत ल्याएको छ । तर पनि यस वर्ष लक्ष्य अनुसार राजश्व उठ्ने सम्भावना भने न्यून छ । जुन इतिहासमै बलियो भनिएको सरकारलाई सबैभन्दा टाउको दुखाई बनेको छ ।

 

तपाईंको बिचार