Friday, October 18, 2019

तनहुँमा एक वर्षमा १ हजार १ सय ३५ घरेलु उद्योग दर्ता, २ हजार भन्दा बढीले पाए रोजगार

प्रकाशित मिति: 2019/08/01

साउन १५, तनहुँ । सिपमुलक तालिम सञ्चालन गरेपछि तनहुँमा घरेलु उद्योग दर्ता गर्नेको संख्या बढेको छ । उद्योग दर्ता भएपछि एकवर्षमा २ हजार बढीले रोजगारी पाएका छन् । त्यस्तै सरकारको राजश्व संकलन पनि बढेको छ ।

तनहुँमा आर्थिक वर्ष २०७५÷०७६ मा १ हजार १ सय ३५ घरेलु उद्योग दर्ता भएका छन् । कृषि, पशु तथा वनजन्य उद्योगको दर्ता सबैभन्दा बढी देखिन्छ । दर्ता भएका उद्योगको कुल पूँजी १ अर्ब ७ करोड ३८ लाख ७५ हजार रुपैयाँ बराबरको रहेको छ । जिल्लाभर ३ सय ७ जना महिला र ९ सय २५ पुरुषले उद्योग दर्ता गरेका हुन् ।

कुन क्षेत्रमा कति उद्योग दर्ता

उत्पादनमुलक – १४३
कृषि तथा वनजन्य – ४९९
सेवामुलक – २९५
पर्यटन मुलक – १९२
निर्माणतर्फ – ६

दर्ता भएका उद्योगमा १ सय ८४ महिला र १ हजार ९ सय ९५ जना पुरुषले रोजगारी समेत पाएका छन् । यी उद्योगबाट गत आर्थिक वर्षमा ५८ लाख ४४ हजार राजश्व संकलन समेत भएको छ । पछिल्लो समय स्थानीय सरकारले विभिन्न तालिम दिने भएकाले पनि उद्योग दर्ता गरेर काम गर्ने गरेका छन् । त्यस्तै घरेलु तथा साना उद्योग विकास समितिले पनि विभिन्न सिपमुलक तालिम दिएको जनाएको छ ।

तनहुँमा अहिलेसम्म ५ हजार ५ सय ८६ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिले गत वर्ष ५ सय ९८ जनालाई विभिन्न उत्पादनमुलक तथा सीपमुलक तालीम प्रदान गरेको थियो । जसले गर्दा पनि उद्योग दर्ता गरेर व्यवसाय गर्नेको संख्या बढेको समितिले जनाएको छ । 

तपाईंको बिचार