Friday, October 18, 2019

चितवनका किसानले बेच्छन् वर्षमा १ अर्ब ५० करोडको केरा

प्रकाशित मिति: 2019/08/12

साउन २७, चितवन। जिल्लाका किसानहरुले एक वर्षमै १ अर्ब ५० करोड बराबरको केरा बिक्री गर्ने गरेका छन् । केरा खेतीतर्फ किसानको आकर्षण बढ्दै गइरहेको बेला केराले उचित बजार नपाउनु, पाए पनि मूल्य नपाउनु मुख्य समस्या हुन् ।

यहाँका किसानले उत्पादन गरेको केराका लागि संकलन केन्द्र नहुँदा बजार र मूल्य दुबै पाउनमा कठिनाइ थियो । यसै कुरालाई ध्यानमा राखी हाल रत्ननगरको पिठुवामा केरा संकलन केन्द्रको स्थापना गरिएको छ ।

सहकारी बजार विकास कार्यक्रम मार्फत ३१ लाखको लगानीमा मार्कण्डे केरा उत्पादक सहकारी संस्थाले संकलन केन्द्रको स्थापना गरेको हो । यसरी संकलन केन्द्र स्थापना भएपछि बिचौलियाले बजार अभाव देखाउने र मुल्यमा चलखेल गरी नाफामा खाने प्रवृत्तिमा कमी आउने किसानहरुको भनाई छ ।

चितवन केरा उत्पादक संघले केराको बिक्रिबाट नै वार्षिक अर्बौ रुपैयाको कारोबार गर्ने गरेको भए पनि चितवनमा हालसम्म संकलन केन्द्र भने रहेको थिएन । रत्ननगरमा स्थापना भएको संकलन केन्द्रबाट वडा नम्बर १४, १५ र १६ का किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।

संकलन केन्द्र स्थापना भएपछि सानो तथा ठुलो केराको छुट्टै ग्रेडिङ गर्न सकिने प्याकिङ मार्फत बजारमा पुर्याईने हुदाँ हप्ता दिनसम्म नबिग्रने हुन्छ ।

हाल चितवनमा ७ सयभन्दा बढी केरा किसानले वार्षिक ५० हजार मेट्रिक टन केरा उत्पादन गर्दै आएका छन् । बीमामा हुने झन्झटका कारण हैरानी भोग्दै आएको यहाँका किसानहरुले ३ हजार बिगाहा क्षेत्रफलमा केरा उत्पादन गर्दै आएका छन् ।

तपाईंको बिचार