Monday, October 21, 2019

४.६६ अंकले घट्यो नेप्से

प्रकाशित मिति: 2019/09/29

असोज १२, काठमाडौं । शेयर बजारमा चाडपर्वको असर परेको छ । दशैंका लागि लगानीकर्ताले रकमको जोहो गर्न थालेपछि केहि दिनयता कारोबार रकम अत्यन्तै कम भएको छ । जसका कारण नेप्से परिसूचक पनि दवावमा परेको छ । आइतबार पनि नेप्से घटेको छ ।

आइतबार शेयर बजारमा परिसूचक नेप्से ४ दशमलव ६६ अंकले घटेर १ हजार १ सय २५ दशमलव ८४ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि घटेको छ । चाडपर्वको समय भएकाले बजारमा कारोबार रकम घटेको लगानीकर्ताहरुको भनाई छ ।

लगानीकर्ताले दशैंका लागि रकमको जोहो गर्न थालेकाले खरिद चाप नदेखिएको र विक्रीकर्ता पनि कम हुँदा नेप्सेमा उच्च गिरावट नभएको विश्लेषकहरु बताउँछन् । सामान्यतया बजारमा लगानीकर्ताको उपस्थिति बढ्दा कारोबार उच्च देखिन्छ । तर दशैंका लागि रकम आवश्यक पर्ने भएकाले शेयर बजारमा लगानी आउन सकेको छैन् । त्यसैको असर कारोबार रकम र परिसूचक नेप्सेमा देखिएको छ ।

आइतबार विकास बैंक र अन्य समुहमा मात्र वृद्धि छ भने बाँकी सबै समुहका सूचकहरु घटेका छन् । २४ करोड रुपैयाँको कारोबार भएको बजारमा प्रभु बैंकको सबैभन्दा बढी ३ करोड ३६ लाख रुपैयाँको शेयर विक्री भएको छ । हिमालय उर्जा विकास कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ८ प्रतिशतले घटेको छ भने आखुखोला जलविद्युत कम्पनीका शेयरधनीले ३ दशमलव ७७ प्रतिशतले कमाएका छन् ।

तपाईंको बिचार