Thursday, December 12, 2019

धानको मूल्य नपाउँदा किसान चिन्तित

प्रकाशित मिति: 2019/11/11

२५ कात्तिक, धनगढी । कैलाली जिल्लामा सरकारी स्वामित्वको निकायबाट यस वर्ष अहिलेसम्म धान खरीदको व्यवस्था नहुँदा बिक्रीमा उचित मूल्य पाउन नसकेको भन्दै किसान चिन्तित भएका छन् ।

सरकारले धानको न्यूनतम् समर्थन मूल्य तोकिसकेको अवस्थामा खरीदको व्यवस्था नहुँदा व्यापारीले आफूखुशी मूल्य तोक्ने गरेकाले उचित मूल्य नपाएको स्थानीय किसान वीरबहादुर चौधरीले गुनासो गरे ।

चोधरीले भने ‘व्यापारीले तोकेको प्रतिकिलो २० रुपैयाँमा धान बेचेर घर खर्चको जोहो गर्नु परेको छ ।’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सेती अञ्चल कार्यालय धनगढीले धान खरीदको व्यवस्थाका लागि केन्द्रीय कार्यालयको परिपत्र पर्खेर बसेको जनाएको छ ।

‘नेपाल सरकारले झण्डै एक महिनाअघि नै धानको न्यूनतम् समर्थन मूल्य तोकिसकेको छ’, कार्यालयका प्रमुख अनिल श्रेष्ठले भने तर निर्देशन आएको छैन । ’


सरकारले प्रतिक्विन्टल मोटो धान दुई हजार ५३२ रुपैयाँ ८० पैसा र मध्यम धानको दुई हजार ६७३ रुपैयाँ १६ पैसा न्यूनतम् समर्थन मूल्य तोकेको श्रेष्ठले जानकारी दिए ।

संस्थानले धान खरीदका लागि समयमै आफ्नो काँटा सञ्चालन नगर्दा किसानले बाध्य भएर निजी क्षेत्रका व्यापारीसँग धान बिक्री गरेर खर्चको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको अर्का किसान लालवीर रानाले बताए ।

समयमै धानको मूल्य तोकेर खरीदको व्यवस्था गर्न सके धान बिक्री गर्दा व्यापारीको मनोमानी नहुने र मूल्य पनि नियन्त्रण भई किसानलाई राहत हुने किसान रानाले बताए । कार्यालयले गएको वर्ष ४० हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिएकोमा झण्डै २३ हजार क्विन्टल खरीद गरेको थियोे ।

तपाईंको बिचार