Tuesday, May 23, 2017  |    

नाकाबन्दीका कारण राजस्व संकलनमा अत्यधिक गिरावट

प्रकाशित मिति: 2015/10/30

गन्तव्य नेपाल न्यूज/काठमाडौँ 

नाकाबन्दी र तराई आन्दोलनले मुलुकका प्रमुख नाका ठप्प हुँदा भन्सार राजस्व संकलनमा भारी गिरावट आएको छ । भन्सार विभागका अनुसार कातिक लागेपछि राजस्व संकलन अत्यन्त न्यूनमा झरेको छ । 
कात्तिक १ देखि ११ गतेसम्म लक्ष्यको जम्मा ११ प्रतिशतमात्र भन्सार राजस्व संकलन भएको छ । 
राजस्व अधिकारीहरूका अनुसार मूख्य चाडपर्वको समय असोज र कात्तिक महिनामा सबैभन्दा बढी राजस्व संकलन हुने समय भए पनि यस अवधिमा लक्ष्यभन्दा अत्यन्तै कममात्र राजस्व उठेको छ 
एक महिनादेखि वीरगन्ज भन्सारबाट कुनै पनि सामान आयातनिर्यात भएको छैन । राजस्व संकलनमा वीरगन्ज भन्सारको ५१ प्रतिशत योगदान छ । भन्सार विभागका अनुसार वीरगन्ज भन्सार सञ्चालन नभएसम्म राजस्व संकलन लक्ष्य पूरा हुनै सक्दैन । 
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भन्सारबाट लक्ष्यको अनुपातमा निकै कममात्र राजस्व उठेको छ । भदौ लागेदेखि नै तराई आन्दोलन सुरु भएकाले राजस्वमा असर गरेको हो । 
चालू आवको असोजसम्ममा भन्सारबाट कुल ४५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएमा त्यसअवधिमा जम्मा ३४ अर्ब उठेको छ । 

तपाईंको बिचार