Tuesday, May 23, 2017  |    

पशुपतीको आम्दानी दैनिक सार्वजनिक गरिने

प्रकाशित मिति: 2015/11/04

गन्तव्य नेपाल न्यूज/काठमाडौँ 
पशुपति क्षेत्र विकास कोषको दैनिक आम्दानी रकम सार्वजनिक हुने भएको छ । सुशासन, पारदर्शिताको क्षेत्रमा विगत १० वर्षदेखि क्रियाशील सञ्चारकर्मीको संस्था भरोसा नेपालको अग्रसरतामा कोषको रकम सञ्चार माध्यमबाट सार्वजनिक गर्न लागिएको हो ।
पशुपति क्षेत्र विकास कोष र भरोसा नेपालबीच रकम सार्वजनिक गर्ने विषयमा मंगलबार सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका तर्फबाट नवनियुक्त सदस्यसचिव सरेश नेपाल र भरोसा नेपालका तर्फबाट अध्यक्ष शिव अधिकारीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि कोषका सदस्यसचिव सरेश नेपालले पशुपतिमा चढाएको भेटी सार्वजनिक गर्ने कार्यको थालनीले जनतामा रहेका आशंका निवारण गर्न मद्दत पुग्ने विश्वास लिएको बताउनुभयो । भरोसा नेपालका अध्यक्ष अधिकारीले कोषको आम्दानी सार्वजनिक गर्दै कोषलाई थप उत्तरदायी र पारदर्शी बनाउने उद्देश्यका साथ सञ्चार माध्यमबाट आम जनतालाई सुसूचित गर्नु आफ्नो दायित्व सम्झिएर निःशुल्क रुपमा काम गर्नेगरी सम्झौता गरिएको बताउनुभयो । 

 

तपाईंको बिचार