Monday, June 26, 2017  |    

बैँकमा निक्षेपको ब्याजदर घट्दै

प्रकाशित मिति: 2015/11/05

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
ऋणको माग घटेपछि बैँकमा पैसा राख्न खोज्ने निक्षेपकर्ताले पाउने ब्याजदर पनि घट्ने भएको छ । निक्षेप बढ्दै जाने तर कर्जा नबढेपछि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउन थालेका हुन् ।
बैंकमा अहिले साढे १५ खर्ब रुपैयाँको हाराहारीमा निक्षेप रहेको छ भने कर्जा साढे ११ खर्ब रुपैयाँभन्दा कम छ । दसैंअगाडिसम्म सात प्रतिशतसम्ममा मुद्दती निक्षेप लिएका बैंकहरूले दसैँपछाडि यसको ब्याजदर चार प्रतिशतभन्दा तल झारेका छन् । 
अघिल्लो वर्षको भदौ मसान्तसम्म चार अर्ब निक्षेप थपिएको थियो । राष्ट्रबैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले भदौसम्म २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको भदौसम्म ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । तराई आन्दोलनका कारण दुई महिनामा दुई अर्ब ६८ करोड रुपैयाँ औद्योगिक क्षेत्रमा कर्जा गएको छ । 
अघिल्लो वर्ष यस्तो कर्जा दुई महिनामा ११ अर्ब ६९ करोड गएको थियो । यस्तै थोक तथा खुद्रा व्यापारमा दुई अर्ब कर्जा गएको छ । अघिल्लो वर्ष यसमा पनि ११ अर्ब कर्जा गएको थियो । 
 
राष्ट्रबैंकको तथ्यांकले भदौ मसान्तसम्म सबै क्षेत्रमा जाने कर्जाको रकम घटेको देखाएको छ । बैंकिङ तरलता बढेपछि कात्तिक १ देखि अहिलेसम्म राष्ट्रबैंकले ९० अर्ब रुपैयाँ निक्षेप संकलन विधिमार्फत बैंक तथा वित्तीय संस्थाबाट लिएको छ । 
राष्ट्रबैंकमा निक्षेप राख्दा बैंक तथा वित्तीय संस्थाले औसतमा एक प्रतिशतभन्दा पनि कम ब्याजदर पाएका छन् । पछिल्लो समयमा बढेको तरलता (लगानीयोग्य रकम) को कारण निक्षेप ब्याजदर ओरालो लाग्न थालेको छ । 
बैंकिङ क्षेत्रमा तरलता बढेपछि कात्तिक १ देखि अहिलेसम्म राष्ट्रबैंकले ९० अर्ब रुपैयाँ निक्षेप संकलन विधिमार्फत बैंक तथा वित्तीय संस्थाबाट लिएको छ । राष्ट्रबैंकमा निक्षेप राख्दा बैंक तथा वित्तीय संस्थाले औसतमा एक प्रतिशतभन्दा पनि कम ब्याजदर पाएका छन् । 
राष्ट्रबैँकले गत साता नाकाबन्दी र तराईमधेस आन्दोलनका कारण ऋण तिर्न नसक्ने ऋणीलाई ऋण तिर्ने समय पर सार्ने सुविधा दिएको थियो ।

 

तपाईंको बिचार