Wednesday, August 23, 2017

चीनले व्यापारिक सम्झौता गर्न निगमलाई डाक्यो

प्रकाशित मिति: 2015/11/17

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
चीन सरकार माताहतको पेट्रो चाइनाले व्यापारिक सम्झौता गर्न आउन नेपाल आयल निगमलाई सोमबार साँझ पत्राचार गरेको छ ।
पेट्रो चाइनाले साँझ ७ बजे निगमलाई पत्राचार गर्दै व्यापारिक सम्झौता गर्न सक्दो चाँडो बेइजिङ आउन बोलाएको छ । आन्तरिक तयारी सकिएको भन्दै सम्झौताका लागि पेट्रो चाइनाले निगमलाई पत्र पठाएको हो । 
निगमले इन्धन खरिद सम्झौताका लागि पेट्रो चाइनालाई नोभेम्बर १६ देखि १९ तारिखभित्रमा नेपाल आउन पत्राचार गरेको थियो । तर पेट्रो चाइनाले सम्झौताका लागि नेपाली पक्षलाई चीनमै आउन आग्रह गरेको छ । 
भारतले गत असोज ६ गतेदेखि लगाएको नाकाबन्दीका कारण आवश्यक परिमाणमा इन्धन आपूर्ति हुन नसक्दा नेपाली जनजीवन कष्टकर बन्दै गएपछि विकल्पका रुपमा सरकारले चीनबाट औपचारिक रुपमा इन्धन ल्याउने पक्रिया अघि बढाइएको हो ।  
निगमले दुई दिनभित्रमा वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेर आगामी पाँच दिनभित्रमा बेइजिङ गएर सम्झौता गर्ने आन्तरिक तयारी गरेको छ ।
निगमले कात्तिक ११ गते बेइजिङ्गमा चाइना पेट्रोसँग इन्धन खरिद गर्ने बिषयमा दुई पक्षिय सम्झौता गरेको थिया । बेइजिङमा हस्ताक्षर भएको समझदारी पत्रमा नेपालको मागको ३३ प्रतिशतसम्म इन्धन चीनबाट ल्याउन सक्ने उल्लेख छ । 
सहमति भएको करिब एक सातापछि पेट्रो चाइनाले नेपालसँग नेपालमा पेट्रोल,  डिजेल, हवाई इन्धनलगायतको माग र खपत, कुन नाकाबाट आपूर्ति गर्दा सहज हुन्छ, कति परिमाणमा खरिद गर्ने हो, ढुवानी कसरी गर्ने, आवश्यक भौतिक पूर्वाधारको अवस्था, ब्यालेन्स सिटलगायतका बिषयमा बिस्तृत जानकारी माग गरेको थियो । 
अहिले चीनबाट आउने इन्धन आईओसीको मूल्यभन्दा केही महँगो हुने निगमको भनाई छ । यसका साथै प्रत्येक १५ तारिखमा इन्धनको परिमाण बराबर भुक्तानी गर्ने प्रस्ताव पनि गरेको छ । 
निगमले आइओसीलाई समेत यही आधारमा भुक्तानी गर्दै आएको छ । त्यसैगरी निगमले चीनबाट आउने इन्धनमा कुनै पनि प्रकारको कर नलगाउन समेत आग्रह गरेको छ ।
केरुङ्गको बाटो निक्कै साँघुरो र हिमपात परिरहने भएकाले सकभर तातोपानी नाकामार्फत पर्याप्त परिमाणमा इन्धन भित्रयाउन सकिन्छ भनेर सोही मार्गमार्फत उपलब्ध गराउन आग्रह गरिएको निगमले जनाएको छ । 
निगमकाअनुसार अनुदान वापतको एक हजार मेट्रिक टनमध्ये तीन सय मेट्रिक टन आउन बाँकी छ । 
 

 

तपाईंको बिचार