Thursday, November 23, 2017

एक महिनाभित्रै खानी उत्खनन गरिने उद्योगमन्त्री पाण्डेको खुलासा

प्रकाशित मिति: 2015/12/08

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
सरकारले दैलेखस्थित खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खननका लागि एक महिनाभित्रै प्रक्रिया सुरु गर्ने भएको छ । खानी तथा भू–गर्भ विभागले तत्काल उत्खनन गर्न सकिने सम्भावनाको क्षेत्र पुष्टि गरेपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सोमबार खानीस्थलमै पुगेर यस्तो योजनाको खुलासा गर्नुभएको हो । 
दैलेखको खानी क्षेत्रमै पुगेका पाण्डेले एक महिनाभित्रै उत्खनन प्रक्रिया सुरु हुने जानकारी दिनुभयो । भू–गर्भविद्सहित जिल्ला पुग्नुभएका उद्योगमन्त्री पाण्डेले सोमबार ग्यास र पेट्रोलियम पदार्थको खानी रहेको पञ्चकोसी क्षेत्रका खोला र भिरबाट निस्किएका ग्यास र पेट्रोलको अनुगमन गर्नुभएको थियो । श्रीस्थान र नाभिस्थानमा रहेको खानी हेरेपछि नाभिस्थानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योगमन्त्री पाण्डेले मन्त्रालयबाट उत्खननका लागि कार्यक्रम तय भइसकेकाले एक महिनाभित्र अन्वेषण, खोजी र उत्खननका लागि काम हुने बताउनुभयो । ‘विभागले तत्काल निकाल्न मिल्ने तीन स्थान पहिचान गरेर सम्भावनासहित राय पेस गरेको छ,’ पाण्डेले भन्नुभयो, ‘तीन स्थानमध्ये दैलेख पनि एक हो ।’
‘तत्काल कति छ, कुन अवस्थामा छ र त्यसबाट उपभोग गर्न सहज हुन्छ कि हुँदैन अध्ययन हुनेछ ।’ उनले नेपालका १० स्थानमा यस्ता खानी रहेको बतउनुभयो ।  ‘पहिलो प्राथमिकता देशकै जनशक्ति प्रयोग गर्ने र त्यसबाट हुन नसके विदेशबाट विज्ञको टोली झिकाएर अध्ययन तथा उत्खननको प्रक्रिया अघि बढाइनेछ,’ उहाँले भन्नुभयो । 
खानी तथा भू–गर्भ क्षेत्रीय कार्यालय प्रमुख तथा भू–गर्भविद् रत्नमणि गुप्ताले अघिल्लो आर्थिक वर्षमा डिटेल भौगोलिक नक्सा तयार भएकाले अब जियोफिजिकल सर्भे गर्न जरुरी भएको बताउनुभयो । ‘३० वर्ष अघिदेखि यहाँको खानीबारे अध्ययन भइरहेको छ,’ भू–गर्भविद् गुप्ताले भन्नुभयो, ‘यहाँ एक सय वर्ष पुग्ने पेट्रोलियम पदार्थ रहेको अनुमान छ ।’
यसअघि खानी भएको पञ्चकोसी क्षेत्रमा अवलोकलनका लागि २०६८ मा विज्ञहरू सम्मिलित संसदको अर्थ र श्रमसम्बन्धी समिति आएको थियो । संसदीय टोलीले ग्यासको नमुना संकलन गरी फर्किएको थियो । खानी तथा भू–गर्भ विभागका अनुसार क्यानेडियन र चाइनिज कम्पनीको अनुसन्धानबाटै यहाँ ग्यास भएको पुष्टि भएको जनाएको छ । पादुका, शीरस्थान, नाभिस्थान, धुलेश्वरमा ग्यास र पेट्रोल रहेको अनुसन्धानले देखाएको छ । यहाँका मन्दिर आसपास र खोलामा तैरिरहेको पेट्रोल र खोलामा हावाको फोकाको रूपमा ग्यास निस्किरहेको छ ।

 

तपाईंको बिचार