Sunday, March 26, 2017  |    

चैत ४ देखि अन्तर्राष्ट्रिय व्यापार मेला

प्रकाशित मिति: 2016/02/19

काठमाडौं । चैत ४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । उद्योग वाणिज्य महासंघले पाँचौँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७२’ आयोजना गर्न लागेको हो नेपाल हस्तकला महासंघ र नेपाल जडिबुटी उत्पादक संघको सहआयोजनामा ५ दिनसम्म सञ्चालन हुने उक्त मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी र बिक्री गरिने महासंघले जनाएको छ ।

मेलामा नेपालका अलावा भारत, चीन, बंगलादेश, पाकिस्तान, थाइल्यान्ड, भुटान, ताइवान देशहरुका कम्पनीको ३ सय स्टल रहनेछन् । त्यस्तै, जापान, कोरिया, थाइल्यान्डलगायतका मुलुकबाट खरिदकर्तासमेत सहभागी हुने महासंघले बताएको छ ।

मेलामा चाइना एक्जिबेसन एन्ड फोरम प्राइभेट लिमिटेड र इन्डिया चेम्बर अफ कमर्सको नेतृत्वमा भारत र चीनबाट क्रमशः ७० र ९० स्टलले सहभागिता जनाउने महासंघले बताएको छ । १२ वैशाखको भूकम्प र तराई आन्दोलन तथा नाकाबन्दीबाट थिलोथिलो भएको मुलुकको अर्थतन्त्रलाई माथि उठाउन मेला सहयोगी हुने विश्वास आयोजकको छ । महासंघले नेपाल सरकार, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा क्यालेन्डर इभेन्टका रूपमा मेला आयोजना गर्दै आएका छन् ।

मेलामा सहभागी हुन चाहने स्वदेशी एवं विदेशी कम्पनीका लागि बिहीबारदेखि नै स्टल बुकिङ खुला गरिएको महासंघले जनाएको छ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टिलका छुट्टाछुट्टै  स्टल रहनेछन् भने तयारी पोशाक, छाला÷ छालाजन्य उत्पादन, नयाँ प्रविधि तथा उपकरण, खाद्यन्न, फर्निचर, फेसन वेयर, होम डेकोर, सेवाक्षेत्रका विविध स्टलको आकर्षण रहने आयोजकले जानकारी दिएको छ । मेलामा जडिबुटी र नेपाल व्यापार रणनीतिअन्तर्गतका वस्तु तथा सेवा (एनटिआइएस)को प्रदर्शनीका लािग ७० स्टल छुट्याइएको छ ।

 

तपाईंको बिचार