Wednesday, August 23, 2017

जडीबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष पक्राउ

प्रकाशित मिति: 2016/02/21

नेपालगन्ज । जडीबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मोहम्मद याकुब अन्सारी प्रतिबन्धित जडीबुटी झ्याउसहित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शनिबार अपराह्न नेपालगन्जको राँझास्थित उनको गोदाममा छापा मारेर अन्सारीलाई जडीबुटीसहित पक्राउ गरेको हो ।

अध्यक्ष अन्सारीको गोदामबाट ५ सय ४२ बोरा अर्थात १३ हजार ५ सय ५० किलो प्रतिबन्धित झ्याउ बरामद गरिएको जिल्ला वन कार्यालय बाँकेले जानकारी दिएको छ । वन कार्यालयका अनुसार बरामद झ्याउको मूल्य २ लाख ३ हजार २ सय ५० रुपैया हुन्छ ।

सरकारले झ्याउ संकलन र बिक्री, वितरणमा प्रतिबन्ध लगाउँदै आएको छ । यति ठूलो परिमाणमा झ्याउ कहाँबाट र कसरी आयो, यसको अनुसन्धान गरिसकेपछि मात्र थाहा हुने जिल्ला वन कार्यालय बाँकेले बताएको छ । अभियुक्त अन्सारीलाई कानुनी कारबाहीका लागि वन कार्यालयले नै प्रक्रिया अगाडि बढाउँछ । बरामद भएको झ्याउ गाडीमा लोड गरेर जिल्ला वन कार्यालयमा लगिएको छ भने पक्राउ परेका अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।

प्रहरीले अन्सारीलाई आवश्यक कारबाहीका लागि राति नै वन कार्यालयसमक्ष बुझाउने जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले अवैध जडीबुटीका विषयमा अन्सारीविरुद्ध अनुसन्धान गरिरहेको जानकारी बाँके प्रहरीले दिएको छ  ।

 

तपाईंको बिचार