Tuesday, August 22, 2017

रत्नपार्कले एकै दिनमा उठायो १ लाख राजस्व

प्रकाशित मिति: 2016/03/06

काठमाडौं । बिगतमा दैनिक १५ देखि २० हजार मात्र राजस्व संकलन हुँदै आएको रत्नपार्कबाट विहीबार एकै दिन १ लाख भन्दा बढी राजस्व संकलन भएको छ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोह हेर्न रत्नपार्क छिर्नेहरुको घुइँचोले यति बढी आम्दानी गराएको हो ।


असारदेखि स–शुल्क भित्रने व्यवस्था गराइएको रत्नपार्कमा विहीबार मात्र १ लाख १ हजार रुपैयाँ राजस्व जम्मा भएको काठमाडौं महानगरपालिका वातावरण महाशाखाले जनाएको छ । अरु दिनमा १५–२० हजार रुपैयाँ संकलन हुँदैआएको थियो तर कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोहले खुलामञ्चमा खचाखच हुँदा सर्वसाधरण रत्नपार्कमा पैसा तिरेरै नेताको भाषण सुन्न छिरेका थिए । यसभन्दा अघि एकै दिनमा एक पटक ४० हजार रुपैयाँ उठेको उनले रेर्कड छ ।

असार १५ गतेदेखि खुलेको रत्नपार्कमा अहिलेसम्म करिब २६ लाख रुपैयाँ राजस्व उठेको छ । राजधानीबासीका लागि आराम गर्ने स्थलको रुपमा विकास गरिएको रत्नपार्कमा छिट्टै नै वाइफाइ इन्टरनेट सुविधा सुरु गर्ने तयारी रहेको काठमाडौं महानगरपालिका वातावरण महाशाखाले बताएको छ ।
यसबाहेक बाल र महिलामैत्री शौचालय, चमेनागृह पनि थप्ने काम भइरहेको छ । निःशुल्क हुने शौचालय असारसम्म सम्पन्न हुने र वाइफाइको केही दिनमै औपचारिक उद्घाटन हुनेछ । युनिसेफको ६ हजार डलर सहयोग र महानगरको करिब १० लाख लगानीमा शौचालय निर्माण भैरहेको छ । यसबाहेक महानगरले खानेपानी र मोबाइल चार्जिङ सुविधा थप्ने योजना बनाइरहेको छ ।

रत्नपार्क्भित्र दैनिक ७ सय जना प्रवेश गर्ने जसमा १ सय जना विद्यार्थी र ६ सय अन्य रहेका छन् । यहाँबाट मासिक साढे ५ लाख रुपैयाँ राजस्व उठ्ने गरेको छ । रत्नपार्क पस्न विद्यार्थीलाई १५ रुपैयाँ, जेष्ठ नागरिक तथा अशक्तलाई निःशुल्क र अन्यलाई २५ रुपैयाँ शुल्क उठाइन्छ ।

तपाईंको बिचार