Thursday, October 19, 2017

एउटै बैंकबाट सम्पुर्ण बैंकको कारोबार गर्न सकिने

प्रकाशित मिति: 2016/03/08

काठमाडौं । आउँदो वैशाखदेखि बैंक तथा वित्तीय संस्थामा अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली लागू हुने भएको छ । यो प्रणाली लागू भएपछि ग्राहकले एउटा बैंकबाट जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा पैसा राख्न र झिक्न सक्नेछन् ।


यस प्रणालीबाट एक बैंकबाट जुनसुकै अर्को बैंक तथा वित्तीय संस्थामा रकम स्थानान्तरण, लाभांश भुक्तानी, प्राथमिक निष्कासनको रकम फिर्ता, बिल भुक्तानी, प्रिमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सनरतलब भुक्तानी, रेमिट्यान्सलगायतका विविध किसिमका भुक्तानी दिन र लिन सकिन्छ । यसका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले अन्तिम तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले बताए ।
ग्राहकले यी सुविधा पाउन सम्बन्धित बैंक तथा वित्तीय संस्था एनसिएचएलको विद्युतीय क्लियरिङ प्रणालीमा आबद्ध भएको भने हुनुपर्नेछ । यो प्रणालीमार्फत हुने कारोबार पारदर्शी हुने र ठूलो संख्याको कारोबार सहज रूपमा गर्न सकिने कम्पनीले जनाएको छ । अत्याधुनिक प्रविधिमा आधारित यो प्रणालीमार्फत कारोबार गर्दा जोखिम कम हुने र ग्राहकले छिटो सेवा पाउने पनि प्रधानले जानकारी दिए । उनले भने, ‘ढिलोमा पनि वैशाख अन्त्यदेखि कारोबार सुरु गर्ने योजना छ ।’
बैंक तथा वित्तीय संस्थालाई नेपाल क्लियरिङ हाउसले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउँदै लाने क्रममा हालसम्म ४० वटा संस्था (क, ख र ग वर्गका) र २ वटा रेमिट्यान्स कम्पनी (इन्टरनेसनल मनी एक्सप्रेस, बेस्ट रेमिट्यान्स)सँग सम्झौता भइसकेको प्रमुख कार्यकारी अधिकृत प्रधानले बताए । यस्तै, करिब १५ वटा संस्थासँग सम्झौता हुने प्रक्रियामा रहेको उनले जानकारी दिए ।

पहिलो चरणमा वैशाखबाट कारोबार सुरु गरिने र बिस्तारै अन्य संस्था (बैंकिङ र गैरबैंकिङ)लाई पनि आबद्ध गर्दै जाने बताइएको छ । ‘थप बैंक, रेमिट्यान्स कम्पनी, बिमा कम्पनीलगायतलाई पनि आबद्ध गर्दै जान्छौँ,’ प्रधानले नयाँ पत्रिकासँग भने ।
नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई विद्युतीय भुक्तानी प्रणालीमा जान प्रोत्साहन गरिरहेको प्रवक्ता त्रिलोचन पंगेनीले बताए । यसैका लागि राष्ट्र बैंकले ‘पेमेन्ट एन्ड सेटलमेन्ट’ विभाग स्थापना गरी काम सुरु गरेको पंगेनीले जानकारी दिए । पंगेनीले भने, ‘राष्ट्र बैंकको उद्देश्य कागजी कारोबार निरुत्साहित गर्नु हो । यसले समयको बचत गर्नुका साथै सेवाको लागत पनि कम पर्छ ।’


हाल एनसिएचएलले विद्युतीय प्रणालीमार्फत १ सय २५ वटा सदस्य बैंकको चेक क्लियरिङ गर्दै आएको छ । उक्त प्रणालीमार्फत सदस्य बैंक तथा वित्तीय संस्थाका २ हजार ६ सय ३२ वटा शाखाबाट खिचिएका चेक राफसाफ गराउँदै आएको एनसिएचएलले जानकारी दिएको छ । यस्तै, यो कम्पनीमा राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीलगायतको लगानी रहेको छ ।

 

 

तपाईंको बिचार