Monday, June 26, 2017  |    

अलैँचीको मूल्य घट्दा किसान मर्कामा

प्रकाशित मिति: 2016/03/11

काठमाडौं । अलैंचीको मूल्य प्रतिमन १७ हजार रुपैयाँसम्म घटेपछि किसानले बिक्री गर्न छाडेका छन् ।

एकै सिजनमा ठूलो मूल्यमा गिरावट आएपछि नाफा गुमाउने डरले किसानले अलैंची बिक्री गर्न छाडेका हुन् । यसै सिजनमा प्रतिमन (४० किलो) को ९७ हजारमा बिक्री भएको अलैंची अहिले ८० हजारमा झरेको छ ।

अलैंची व्यवसायी संघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईका अनुसार बिर्तामोडमा गत सोमबार ८० हजार प्रतिमनमा बिक्री भयो । भदौदेखि उत्पादन हुने अलैंचीको सुरु मूल्य ९१ हजार रुपैयाँ थियो । त्यसपछि ६ हजारसम्म बढेको मूल्य ८० हजारमा र्झयो ।

सुरुमा किनेका व्यापारीलाई पनि घट्दो मूल्यले घाटा पार्ने देखिएको छ । अलैंची व्यापारी दिनेश अधिकारीका अनुसार किसानसँग किनेको तुलनामा प्रतिमनमा पाँच किलोसम्म घटेको बताउँछन् । किसानले भट्टी (सुकाउने ठाउँ) बाटै उठाएर ल्याएका हुन्छन् ।

गोदाममा थन्क्याउँदा सुकेर थप घट्छ । सुकेको घाटा, ब्याज, गोदाम भाडा गर्दा मूल्य बढ्ने तर बजारमा घटेकाले टाट पल्टिने अवस्था भएको उनले बताए ।

भारतको दिल्लीका व्यापारीले नेपालीलाई दिएको सूचनाअनुसार खाडी मुलुकमा गत वर्षको स्टक सकिएको छैन । अघिल्लो सालको बाँकी नै छ भनेर खाडी मुलुकबाट खरिदका लागि व्यापारी दिल्ली आएका छैनन् ।

उनीहरू नआएसम्म मूल्य बढ्दैन । नेपाली अलैंचीको भारत र साउदीलगायत खाडी मुलुकमा माग हुन्छ । अधिक माग हुने ठाउँमा निर्यात हुन नसकेकाले अलैंचीको मूल्य घटेको घट्यै भएको हो ।

नयाँदिल्लीबाट पाकिस्तानमा समेत गरेर दैनिक १ देखि डेढ सय मनसम्म बिक्री हुन्छ । जसलाई आन्तरिक बजार भनिन्छ । त्यो बाहेकको सबै खाडी मुलुकमा भारत हुँदै निर्यात गरिन्छ । खाडीमा साउदी र दुबईका व्यापारीले लान्छन् ।

नेपाली व्यापारीको त्यहाँसम्म पहुँच छैन । नेपालले थोरै मात्रै दिल्ली र्पुयाउन सक्छन् । अधिकांश सिलगुडी र जोगवनीमै बेच्छन् । दिल्लीका व्यापारीले मात्रै खाडीमा निर्यात गर्ने हुन् ।

खाडीबाट खरिदका लागि आउने व्यापारीको संख्या थोरै छ । भारतीय व्यापारीको भनाइ उद्धृत गर्दै अलैंची व्यापारी अधिकारीले भने, ‘जब खाडीबाट व्यापारी आउँछन् उनीहरूले पानीजहाज रिजर्भ गरेका हुन्छन् । त्यसलाई भर्न उनीहरूलाई धेरै चाहिन्छ । दिल्लीमा गोदाम गरेकाले मात्रै पुग्दैन । त्यो बेला उच्च मूल्य लगाउँछन् । त्यो लिएर गएपछि नसकिएसम्म आउँदैनन् ।’

अहिलेसम्म अर्डर पनि नगरेको दिल्लीका व्यापारीले बताउने गरेका छन् ।

मसला बनाउन प्रयोग गरिने अलैंचीको दिल्ली बाहेकको नेपालको बजार छैन । जसका कारण तिनै व्यापारीले दिने मूल्यमा भर पर्नुको विकल्प नभएको अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष खड्ग मोक्तान बताउँछन् ।

मोक्तानका अनुसार गत वर्ष किसानले १ लाख २० हजार रुपैयाँसम्म पाएका थिए । त्यही आसमा बसेका किसान र व्यापारी दुवैका गोदाम भरिएका छन् । किसानको आफ्नै उत्पादन भएकाले घाटामा नगए पनि व्यापारीको लागतअनुसारको आम्दानी नहुने खतरा बढेको छ ।

अलैंचीको मूल्य सरकारले अहिलेसम्म निर्धारण गरेको छैन । भारतबाहेक अन्त निर्यात गर्ने उपाय नभएकाले नेपालका व्यापारी र किसानले उनीहरूकै भरमा बस्नुपर्छ । मोरङ उद्योग संगठनका कार्यकारी सचिव सोमनाथ अधिकारीका अनुसार नेपालको अलैंची उपभोक्ताकामा पुग्दा ५ लाख पुग्छ ।

तर, नेपालका किसान र व्यापारीले पाउने मूल्य भनेको एकादुई हजारको मात्रै अन्तर छ । कृषि, सूचना तथा सञ्चारको तथ्यांकअनुसार नेपालबाट वार्षिक १२ हजार टन अलैंची उत्पादन हुँदै आएको छ ।

किसान चिन्तामा
गत वर्ष १ लाख २० हजारसम्म मूल्य पाएका किसान पनि चिन्तामा छन् । चोरी, डकैती, आगलागीजस्ता समस्याको सामना गरेर मूल्यको पर्खाइमा रहेका किसानहरू मूल्य घट्न थालेपछि चिन्तित बनेका हुन् ।

आफ्नो दैनिक जीवनका लागि आवश्यक रकमसमेत अन्तैबाट खोजेर अलैंची गोदाममा राखेका किसान अन्योलमा परेको अलैंची कृषक सञ्जालका अध्यक्ष शिव गुरुङ बताउँछन् । चाररपाँच वर्ष अघिसम्म उत्पादन हुनासाथ व्यापारीकहाँ र्पुयाइहाल्ने किसान अहिले आफैंले राखेर राम्रो मूल्य आएको बेला बिक्री गर्न थालेका छन् ।

व्यापारिक प्रतिस्पर्धाको फाइदा उठाएर किसानले आफूले चाहेका दिनको मूल्य लिने गरी अलैंची व्यापारीलाई बुझाउने गरेका छन् । पहिला व्यापारीले धेरै लाभ लिएपछि किसानहरू संगठित भएर आफैं गोदाम गर्ने र सहकारीमार्फत बिक्री गर्ने सम्मको निर्णय
गरेका थिए ।

मूल्य नबढेपछि स्टक मूल्य बढ्ने आशामा पाँचथरका किसान र संकलकले उत्पादित अलैंची ‘स्टक’ राखेका छन् । पर्याप्त मात्रामा उत्पादित अलैंची बजार नपुग्दासमेत मूल्य बढ्न नसकेपछि किसान निराश बनेका हुन् । अहिलेको सिजनमा अलैंचीको मूल्य प्रतिमन (४० केजी) ८५ हजारसम्म चलेको छ । गत मंसिरमा १ लाखसम्म अलैंचीको मूल्य पुगे पनि मूल्य ओरालो लागेको थियो । गत वर्षझै मूल्य अकासिने आशामा बसेका किसानहरू अलैंची ‘स्टक’ गरेरै राख्न बाध्य छन् ।

गत वर्ष ९५ हजारदेखि सुरुमै किनबेच भएको अलैंचीको मूल्य १ लाख १५ हजारसम्म पुगेको थियो । किसान र संकलकले त्यही मूल्य पाउने ध्याउन्नमा भाउ आएको बेला अलैंची नबेच्दा स्टक रहन गएको बताए ।

लुङरुपाका किसान पर्वलाल दंगालका अनुसार भाउ बढ्ने आशा गरे पनि घटेपछि घाटा पर्ने भएकाले धेरै किसानले आफूसितै अलैंची राखेका छन् । ‘बरु भाउ आएपछि बेचौंला भनेर पर्खिएका छौं,’ उनले भने, ‘कम मूल्यमा बेच्दा घाटा बेहोर्न किसान तयार छैनन् ।’ किसानले आफ्नो दैनिक व्यवहार चल्ने गरी थोरै मात्र अलैंची बिक्री गरेको उनले बताए ।

अलैंची व्यवसायी संघका उपाध्यक्ष दीपक नेपालले यो वर्ष मूल्य कम हुँदा बजारमा अलैंची कम आएको दाबी गरे । ‘करिब ४० प्रतिशत माल मात्र बजार पुग्यो होला,’ उनले भने, ‘बाँकी अहिले पनि किसान र संकलकैमा छ ।’ भाउ बढे किसानको ‘स्टक’ राखेको सबै अलैंची निस्कने उनले बताए ।

अघिल्ला वर्षहरूमा उत्पादित सबै अलैंची यो समय सम्ममा बिक्री भइसक्थ्यो । अलैंचीको भाउ घटबढ गराएर फाइदा लिन सक्रिय कतिपय व्यवसायीहरूले यो वर्ष किसानले अलैंची ननिकालेपछि फाइदा लिन नपाएको बताइएको छ । किसान र संकलकले ब्याजमा पैसा पाउने र आर्थिक रूपले आफैं सक्षम बन्दै गएकाले लामो समय भाउ नबढे पनि अलैंची नबेचेको व्यवसायीले बताए ।

अलैंची व्यावसायी नरेन्द्र अधिकारीले भाउ बढ्ने आशामा किसानले पर्खिएको हुन सक्ने बताए । ‘भाउ बढ्ने आशामा किसानले अलैंची बजारसम्म र्पुयाएका छैनन्,’ उनले भने । नेपालमा वार्षिक ५ हजार ७ सय ५३ टन अलैंची उत्पादन हुने गरेको छ । कृषि गणना २०१३ का अनुसार देशभरको १४ हजार ६ सय ८७ हेक्टर भूभागमा अलैंची हुने गर्छ ।

त्यसमध्ये पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, तेहथुम, भोजपुर, संखुवासभा र धनकुटा जिल्ला अलैंचीको धेरै उत्पादन हुने क्षेत्रमा चिनिन्छन् । अलैंची उत्पादनको ८६ प्रतिशत हिस्सा पूर्वी क्षेत्रले लिएको छ । पाँचथरमा करिब छ सय टन अलैंची बर्से्नि उत्पादन भइरहेको छ ।

         

तपाईंको बिचार