Wednesday, May 24, 2017  |    

चालिस देशसंग व्यापार नाफा

प्रकाशित मिति: 2016/03/13

काठमाडौं । नेपालको धेरै कारोबार हुने भारत र चीनसँगको व्यापारघाटा निरन्तर बढिरहे पनि केही देशहरूसँगको व्यापारमा भने नाफा भईरहेको छ । चालु आ.व सहित ४ वर्षयताको तथ्यांकअनुसार नेपालले कम्तीमा ३२ देखि बढीमा ४९ मुलुकसँग व्यापार नाफा गरेको देखिन्छ । चालु आर्थिक वर्षको ७ महिनामा मात्रै ४० वटा मुलुकसँग व्यापार नाफा रहेको तथ्याङ्कले देखाउँछ । भन्सार विभागका अनुसार यो वर्षको माघ मसान्तसम्म १ सय ६५ वटा देशसँग नेपालको व्यापार (आयात निर्यात) भएको छ ।

करिब एक सय १५ भन्दा बढी मुलुकहरूसँग निरन्तर घाटा नै रहेकाले पनि यो नाफा नगण्य मानिएको हो । ४ वर्षयताको तथ्यांकअनुसार एक सय १९ देखि १ सय ४८ मुलुकसँग हरेक वर्ष व्यापार घाटा हुने गरेको देखिन्छ । उक्त आधारमा नाफा भएका मुलुकको संख्या पनि निकै न्यून हो । चालु आर्थिक वर्षको सात महिनामा पनि मुलुकको कुल व्यापार घाटा अत्यधिक देखिन्छ । विभागको तथ्यांकअनुसार ३ खर्ब ९ अर्ब ३६ करोड रुपैयाँ व्यापार घाटा भएको छ । चालु आर्थिक वर्षमा ३६ अर्ब ७६ करोड रुपैयाँको निर्यात भएको छ । करिब एक सय ६६ मुलुकसँगको आयात भने ३ खर्ब ४६ अर्ब १३ करोड रुपैयाँको छ ।

यसमध्ये सबैभन्दा बढी भारतबाट विभिन्न सामग्रीहरू आयात भएका हुन् । विभागको तथ्यांकअनुसार २ खर्ब २ अर्ब ९० करोड रुपैयाँको आयात भएको छ ।
भारतले करिब तीन महिना नाकाबन्दी लगाउँदासमेत बाँकी अवधिमा उल्लेख्य सामग्रीहरू आयात भएको देखिन्छ । निर्यात भने २० अर्ब ३५ करोड रुपैयाँको मात्रै हो । उक्त आधारमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १ खर्ब ८२ अर्ब ५४ करोड रुपैयाँ व्यापार घाटा भारतसँग मात्र देखिन्छ । उक्त तथ्यांकका आधारमा भारतसँगको व्यापार घाटा थप चुलिंदो देखिन्छ । अर्थ्विद् पाण्डेका अनुसार मूल्य र सहजताका कारण अन्य मुलुकको सामानसमेत भारतबाटै आयात हुने गरेको छ । नेपालको करिब १ सय ८० मुलुकहरूसँग व्यापार रहेको तथ्यांकले देखाउँछ ।

 

तपाईंको बिचार