Monday, May 29, 2017  |    

न्यादी हाइड्रो पावर र प्राधिकरणबीच ३० मेगावाटको विद्युत् खरिदबिक्री सम्झौता

प्रकाशित मिति: 2015/06/12

न्यादी हाइड्रो पावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच ३० मेगावाट क्षमताको न्यादी जलविद्युत्् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता भएको छ । न्यादी बुटवल पावर कम्पनी लिमिटेडको सहायक कम्पनी हो । बुटवल पावर कम्पनीका अनुसार गत मंगलबार उक्त सम्झौता भएको हो । विद्युत् खरिद दर प्रचलित ‘पोष्टेड’ दरअनुसार चार रुपैयाँ ८० पैसा वर्षायाम (वैशाखदेखि मंसिर महिनासम्म)को लागि र आठ रुपैयाँ ४० पैसा सुख्खायाम (पुसदेखि चैत महिनासम्म)को लागि लागू हुनेछ । उक्त दर वार्षिक तीन प्रतिशतका दरले सामान्य वृद्धि भई आठ वर्षसम्म कायम रहनेछ । सम्झौताको अवधि आगामी ३० वर्षसम्म कायम रहने बुटवल पावर कम्पनीले जनाएको छ । न्यादी जलविद्युत् आयोजना खोलाको वहावको आधारमा सञ्चालन हुने आयोजना हो । उक्त आयोजना लमजुङ जिल्लाअन्तर्गत बाहुनडाँडा गाविसमा अवस्थित छ । यो आयोजनाले न्यादी खोलामा बाँध बाँधी भूमिगत थिग्य्राउने पोखरी हुँदै करिब चार किलोमिटर लामो सुरुङमार्गमार्फत ठूलोबेशी गाउँनजिकै अवस्थित विद्युत्गृहमा खसाली ३० मेगावाटको विद्युत् उत्पादन गरेपछि पानीलाई पुनः न्यादी खोलामा मिसाइनेछ । उत्पादित विद्युत्लाई विद्युत्गृहको स्विचयार्डदेखि करिब सात किलोमिटर लामो १३२ केभी प्रसारण लाइनबाट प्रस्तावित मस्र्याङ्दी कोरिडोर प्रसारण लाइनको खुदी सबस्टेसनसम्म पु-याइनेछ । यस आयोजनाको अनुमानित लागत करिब पाँच करोड ९० लाख अमेरिकी डलर रहेको छ । यो आयोजना सन् २०१९ को डिसेम्बर महिनाभित्र निर्माणसम्पन्न हुने र यसबाट देश विकासमा महत्वपूर्ण योगदान पुग्ने साथै आम नेपालीलाई चरम विद्युत् अभावबाट मुक्त गर्न केही सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो आयोजना बुटवल पावर कम्पनी समूह र लमजुङ विद्युत् विकास कम्पनीको संयुक्त लगानीमा निर्माण हुन गइरहेको छ । वित्तीय व्यवस्थापनको प्रक्रिया अघि बढिसकेको र चाँडै नै यस प्रक्रिया पूरा गरी निर्माणकार्य सुरु गरिने बुटवल पावरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

 

तपाईंको बिचार