Wednesday, August 23, 2017

भूकम्पको क्षतिले टेक्सटायल उद्योगमा करोडौँ क्षति

प्रकाशित मिति: 2015/06/12

उपत्यकाकै सबैभन्दा ठूलो टेक्सटायल उद्योगमा गत १२ वैशाखमा आएको विनाशकारी भूकम्प र त्यसपछि लगातार आएका पराकम्पनबाट करोडौँको क्षति भएको छ । भक्तपुरको सल्लाघारीमा रहेको नेप्पो टेक्सटायल उद्योगमा भूकम्पकै कारण भवन कामै नलाग्ने गरी चर्किएको छ भने दर्जनौं स्वचालित मेसिनहरु बिग्रिँदा करोडौंको क्षति भएको बताइएको छ ।  त्यस्तै, कपडा बुन्दै गरेका दर्जनौँ तानहरु बिग्रिएको उद्योग सञ्चालक पवनकुमार संघाईले बताए । संघाईले नेपाली कपडा उद्योगहरुमा छुट्टै पहिचान बनाउन सफल भएको नेप्पो टेक्सटायल वैशाख १२ पछि हालसम्म पनि सञ्चालन गर्न नसकिएको जानकारी दिए । नेपालमा नै सर्टिङ–सुटिङ कपडा उत्पादन गरेर विदेशी सर्टिङ–सुटिङ कपडासँग प्रतिस्पर्धा गर्दै आएको नेप्पो टेक्सटायलमा भूकम्पका कारण भएको क्षतिले सम्पूर्ण नेपाली टेक्सटायल उद्योगलाई ठूलो धक्का लागेको नेपाल कपडा उत्पादक संघका एक सदस्यको भनाइ छ । भक्तपुरको सल्लाघारीमा रहेको नेप्पो टेक्सटायल कपडा उत्पादन गर्ने नेपालकै ठूलो उद्योगमध्यको एक हो भने काठमाडौं उपत्यकाको एकमात्र ठूलो टेक्सटायल उद्योग हो । तीन सयभन्दा बढी कर्मचारी र मजदुर कार्यरत उक्त उद्योगमा कर्मचारी र मजदुर हालसम्म पनि काममा नआउँदा दैनिक लाखौँ रुपैयाँ नोक्सान भइरहेको उद्योगका महाप्रबन्धक बजरंग अग्रवालले बताए । कपडा उत्पादन गरेर भूकम्पपीडितलाई सहयोग गर्नुपर्नेमा लामो समय उद्योग बन्द हुँदा करोडौँ नोक्सान भएको पनि उनले बताए ।राज्यले गत वैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसपछिका दर्जनौँ ठूला पराकम्पन कारण क्षति भएका उद्योगहरुलाई बैंकको ब्याज मिनाहा वा छुट, बीमा कम्पनीहरुबाट विना झन्झठ दाबी भुक्तानी र एड्भान्स पेमेन्ट, विद्युत्मा सहुलियतलगायतका सुविधा दिनुपर्ने सञ्चालक संघाईले बताए । भूकम्पका कारण मुलुकभरका टेक्सटायल उद्योगमा झन्डै एक अर्बभन्दा बढी भौतिक क्षति भएको प्रारम्भिक अनुमान कपडा उद्योग संघले गरेको छ । विदेशी कपडाको आयात, राजनीतिक अस्थिरता, मजदुर समस्या, बैंकको चर्को ब्याजदर, विद्युत् समस्या र सरकारको अदूरदर्शी नीतिका कारण पछिल्लो समयमा दर्जनभन्दा बढी टेक्सटायल उद्योग बन्द भइसकेका छन् ।

तपाईंको बिचार