Friday, April 28, 2017  |    

पोखरामा लगानीकर्ता प्रशिक्षण कार्यक्रम

प्रकाशित मिति: 2015/06/12

काठमाडौं (अस) । ‘लगानीकर्तासँग नेप्से’ कार्यक्रम अन्तर्गत नेपाल स्टक एक्सचेञ्जको आयोजनामा शुक्रवार पोखरामा लगानीकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा करीब १ सय जना लगानीकर्ता सहभागी थिए । बजारमा साना लगानीकर्ताले ध्यान दिनुपर्ने कुरा, लगानीका विभिन्न अवसर, शेयर लगानी गर्नुपूर्व र लगानीपश्चात् अपनाउनुपर्ने सावधानीलगायत विषयमा कार्यक्रममा छलफल भएको थियो । नेप्सेका कामु उपप्रबन्धक निरञ्जन फुयालले लगानी गर्दा ध्यान दिनुपर्ने कम्पनी एवम् बजारसँग सम्बन्धित विभिन्न विषयमा एक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले पूँजीबजारमा साना लगानीकर्ताको महŒवका बारेमा समेत प्रकाश पारेका थिए । यसैगरी, सीडीएससी एण्ड क्लियरिङका वरिष्ठ अधिकृत कञ्चन सापकोटाले शेयर अभौतिकीकरण गरेपछि हुने फाइदाबारेमा जानकारी गराउँदै काठमाडौंबाहिरका लगानीकर्ताले यसबाट अझ बढी फाइदा लिन सक्ने कुरा उल्लेख गरे । 

पोखरा उद्योग वाणिज्य सङ्घमा भएको सो कार्यक्रममा सङ्घका प्रथम उपाध्यक्ष देव क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गरे भने स्टक ब्रोकर एशोसिएशनका महासचिव नितेशकुमार अग्रवालले पनि मन्तव्य व्यक्त गरेका थिए । नेप्सेको कारोबार प्रणाली लगानीकर्तामैत्री भई छिट्टै लगानीकर्ता आफैले जहाँबाट पनि कारोबार गर्न सक्ने व्यवस्था हुन लागेको जानकारी सो अवसरमा दिइएको थियो । त्यस्तै, सीडीएससी एण्ड क्लियरिङ केही समयमा नै पूर्ण क्षमतामा सञ्चालनमा आउने र हाल काठमाडौंबाहिर देखिएका समस्या समाधान हुने बताइएको थियो । नेप्सेले देशभर छरिएर रहेका लगानीकर्तालाई पूँजी बजारमा लगानी गर्ने सम्बन्धमा सुसूचित गराउने उद्दश्यले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तपाईंको बिचार