Sunday, April 23, 2017  |    

पुनरुद्धार कोषद्धारा सरकारसंग ५० करोड बजेट माग

प्रकाशित मिति: 2016/03/31

चैत्र१८, काठमाडौं । भूकम्प र नाकाबन्दीबाट पीडित उद्योगी व्यवसायीलाई राहत दिने उद्देश्यले स्थापना भएको आर्थिक पुनरुद्धार कोषले अर्थ मन्त्रालयसँग ५० अर्ब रुपैयाँ बजेट मागेको छ ।


कोषले काम सुरु गरेपछि भूकम्प र नाकाबन्दीबाट प्रभावित बनेका व्यवसायीहरुले ढिलै भएपनि सरकारी राहत पाउने भएका छन् । कोषले समस्यामा परेका व्यवसायीहरुलाई  ५ प्रतिशत व्याजमै ऋण उपलब्ध गराउने छ ।
आवेदन दिन आग्रह
अर्थ मन्त्रालयले ५० अर्ब रुपैयाँ दियो भने कोषमा १ खर्ब र्पुयाउन कुनै कठिन नहुने आर्थिक पुनरुद्धार कोषले बताएको छ । पुनरुद्धार कोषले काम अघि बढाइसकेको र भूकम्प र नाकाबन्दीबाट पीडित बनेका व्यवसायीहरुलाई राहतका लागि बैंकहरुमा आवेदन दिन  कोषले  आग्रह गरेको छ । कोषका अनुसार १ खर्बको कोषमा २५ वाणिज्य बैंक, ५ विकास बैंक र ६ वटा फाइनान्स कम्पनीले ३० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता गरिसकेका छन्
मन्त्रिपरिषदले तत्कालै कार्यान्वयन गर्ने भन्दै गत पुस २१ गते भूकम्पबाट भएको क्षति, सीमा नाकामा भएको अवरोध तथा आपूर्ति प्रणालीको असहज परिस्थितिबाट कृषि, पर्यटन, उद्योग, व्यवसाय लगायतमा पर्न गएको प्रतिकुल असरलाई न्यूनीकरण गरी लगानीको विश्वसनीय बातावरण बनाउन सरकारले १ खर्ब रुपैयाँ बराबरको आर्थिक पुनरुद्धार कोष स्थापना गरेको थियो ।
कोषको संयोजक नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर संयोजक रहने व्यवस्था गरिएको छ । कोष स्थापना भएको लामो समय डेपुटी गभर्नरको नियुक्त हुन नसक्दा कोषको काम अघि बढ्न सकेको थिएन ।
सरकारले गत फागुन १९ गतेमात्रै राष्ट्र बैंकको रिक्त रहेको डेपुटी गभर्नर नियुक्त गरेको थियो । डेपुटी गभर्नर नियुक्तपछि करिब दुईहप्ता विषय प्रवेश नै नगरेको कोषले पछिल्ला दुई हप्तामा भने काम अघि बढाएको हो ।
राहत पाउन के गर्नुपर्छ ?
रातहका लागि भूकम्प तथा नाकाबन्दीबाट प्रभावित बनेका व्यवसायीहरुले कोषमार्फत राहत पाउनका लागि बैंक तथा वित्तीय संस्थाहरुमा र संस्थाहरुले नेपाल राष्ट्र बैंकको नियमन विभागमा आवेदन दिनुपर्ने छ ।
नियमन विभागले आवश्यक छानविन गरी राहत दिनुपर्ने देखिएमा कोषका संयोजक तथा डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सिफारिस गर्नुपर्ने हुन्छ । त्यसरी सिफारिस भएकालाई कोषले राहत दिनेछ ।
१ खर्ब रुपैयाँको उक्त कोषको खाता नियमन विभागका प्रमुख र सोही विभागका निर्देशकले सञ्चालन गर्न मिल्ने गरी राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथलीमा खोलिएको छ । सोही खाताबाट व्यवसायीलाई राहत उपलब्ध गराइने छ ।

 

तपाईंको बिचार