Wednesday, May 24, 2017  |    

प्रहरीको लगानीमा ४९ मेगावाटको जलविद्युत आयोजना बन्दै

प्रकाशित मिति: 2016/04/04

 चैत्र २२,काठमाडौं । नेपाल प्रहरीले आफ्ना बहालवाला र सेवा निवृत्त सदस्यको लगानीमा ४९ मेगावाटको जलविद्युत आयोजना बनाउने भएको छ । प्रहरीले दीर्घकालीन आम्दानीको स्रोत तयार गर्ने उदेश्यले जलविद्युत आयोजना निर्माण गर्न थालेको हो ।

साढे आठ अर्ब रुपैयाँ पुँजी लगानी हुने अनुमान गरिएको आयोजनाको लागि आवश्यक प्रक्रिया अघि बढिसकेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । ३० प्रतिशत (दुई अर्ब ५४ करोड) सेयर पुँजी र ७० प्रतिशत (पाँच अर्ब ९६ करोड) ऋण लगानीबाट आयोजना सम्पन्न गर्ने लक्ष्य छ। उक्त कम्पनीको सेयरमा सर्वसाधारणले पनि लगानी गर्न पाउने छन् ।

नाम सार्वजनिक नगरिएको उक्त जलविद्युत आयोजना थप अध्ययनको चरणमा छ । आयोजनाको अनुमतिपत्र लिने प्रक्रिया भने सुरु भइसकेको स्रोतले बतायो । नेपाल प्रहरी कल्याण कोष र नेपाल जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको सहकार्यमा प्रस्तावित आयोजना बन्नेछ । ’नेपाल सरकारको ५१ प्रतिशत पुँजी लगानी रहेको जलविद्युत लागानी तथा विकास कम्पनीमार्फत उक्त जलविद्युत परियोजना स्थापनासम्बन्धी अवधारणापत्र तयार भइसकेको छ,’ प्रहरी प्रधान कार्यालयको कल्याणले मातहतका निकायलाई यस सम्बन्धमा जानकारी गराउन चैत ११ गते जारी गरेको पत्रमा भनिएको  छ ।

उक्त परियोजनामा नेपाल प्रहरीका बहालवाला र अवकाशप्राप्त सबै सदस्यले लगानी गर्नुपर्ने नियम प्रधान कार्यालयले लगाएको छ । बहालवाला प्रहरीले न्यूनतम १५ हजार र अवकाश प्राप्तले न्यूनतम पाँच हजार रुपैयाँ लगानी गर्नुपर्नेछ। अधिकतम आफ्नो आर्थिक अवस्थाले भ्याएसम्म लगानी गर्न सक्ने व्यवस्था गरिएको प्रधान कार्यालयले प्रस्ट पारेको छ ।

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारका अनुसार उक्त आयोजनाको १५ प्रतिशत सेयर सर्वसाधारणलाई र १० प्रतिशत स्थानीयलाई दिने योजना छ ।  

 
 

 
 

 

तपाईंको बिचार