Monday, May 29, 2017  |    

पुरानो बसपार्कलाई खुलामञ्चमा सारिँदै

प्रकाशित मिति: 2016/04/21

 

वैशाख ९, काठमाडौं । भ्यू टावर निर्माण अवधिभर पुरानो बसपार्कमा रोकिन आउने र त्यहाँबाट छुट्ने सवारीहरुको व्यवस्थापन खुलामञ्चबाट गरिने भएको छ । राजधानीको पुरानो बसपार्कमा निर्माण गर्न लागिएको टावरको निर्माणको समयमा मात्र खुलामञ्चमा यातायातको साधन राखिने काठमाडौं महानगरपालिकाले बताएको छ ।

       काठमाडौं महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार टावर निर्माणका लागि हाल खुलामञ्चमा जस्ताले बार्ने काम भइरहेको छ । उक्त काम सकिनेबित्तिकै यातायातका साधनलाई स्थानान्तरण गरी टावर निर्माणको काम सुरु गरिने छ । ’टावर निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि टावरको संरचना फरक भएकाले निर्माण प्रक्रिया ढिला भएको हो,’ प्रवक्ता कार्कीले भन्नुभयो । भूकम्प पूर्वको योजनाअनुसार टावर २९ तला बनाउने तयारी रहेको थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाइने छ । अहिले १२ तलाको बनाउने नक्सालाई स्वीकृति दिइएको छ । प्रस्तावित सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कनसमेत तयार भइसकेको कामपाले बताएको छ ।

तपाईंको बिचार