Friday, April 28, 2017  |    

साहसिक र अग्रगामि बजेट ल्याउनुपर्ने उद्योगीको सुझाव

प्रकाशित मिति: 2016/04/24

सुझावलाई महत्व दिन्छौंः अर्थमन्त्री

वैशाख १२, काठमाडौं । नेपाल उद्योग परिसंघले पुरातनवादी सोंचबाट बाहिर निस्किएर साहसिक बजेट ल्याउन अर्थमन्त्री विष्णु पौडेललाई सुझाव दिएको छ । आगामी आर्थिक वर्षको बजेट ओरालो लागिरहेको अर्थतन्त्रलाई माथि उठाउने खालको हुनुपर्ने उनीहरुको सुझाव छ ।

आइतबार परिसंघका पदाधिकारीले अर्थमन्त्री पौडेललाई भेटी निजीक्षेत्र मैत्री तथाअग्रगामी बजेट ल्याउन सुझाव दिएका हुन् । नयाँ संविधानपछि आउन लागेको पहिलो बजेटमा उत्पादन तथा रोजगारी बढाउने, ठूला पूर्वाधार विकास तथा पुनर्निर्माणमुखी र निजी क्षेत्र एवं व्यवसायमैत्री कर तथा राजश्व नीति अंगालिनुपर्ने सुझाव छ ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले लगानीलाई नीतिगत संरक्षण गर्ने गरी बजेट ल्याउन अर्थमन्त्रीलाई आग्रह गरे । लगानीलाई प्रोत्साहन गर्न सकेमा उद्योग, व्यवसाय र पूर्वाधार विकासमा सघाउ पुग्ने उनको विश्वास छ । सरकारले बजेटमार्फत रोजगारी बढाउने खालका उद्योग व्यवसायलाई टेवा दिनुपर्ने उनको माग छ ।
सरकारको राजश्व नीति पनि पुरातनवादी भएको बताउँदै अध्यक्ष शर्माले निजी क्षेत्र प्रोत्साहित हुने खालको राजश्व नीति अंगाल्न पनि सुझाव दिए । उनले सय जनाभन्दा बढीलाई रोजगारी दिने उद्योगमा ‘डेडिकेटेड फिडर’ राखेर नियमित विद्युत सप्लाई गर्न पनि सुझाव दिएका छन् ।
परिसंघका उपाध्यक्ष अनुज अग्रवालले मुलुकको स्तरोन्नती र दीगो विकासको लक्ष्य प्राप्तीका लागि आगामी दशकलाई ‘लगानी तथा विकासको दशक’ घोषणा गरी प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिए । प्रमुख विकास योजनाहरुको खाका बनाएर दश वर्ष्भित्र सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।
परिसंघले आगामी आर्थिक वर्ष कुल बजेटको कम्तिमा ‘एक तिहाइ’ बजेट पूर्वाधार क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएको छ । पूर्वाधार विकासका लागि छुट्टै इन्फ्राष्ट्रक्चर बैंक स्थापना गर्नुपर्ने परिसंघको सुझाव छ ।
नेपाली तयारी पोषाकमा भारतले लगाउँदै आएको समिकरण महशुल हटाउन सरकारको तर्फबाट पहल गरिनुपर्ने बताइएको छ ।

 
सुझावलाई महत्व दिन्छौंः अर्थमन्त्री
अर्थमन्त्री पौडेलले आगामी बजेटमा परिसंघका सुझावहरु समावेश गर्ने आश्वासन दिएका छन् । ‘सबै सुझावहरु समावेश गर्न सम्भव नहोला, तर महत्वका आधारमा सुझावहरु समावेश गरिनेछ,’ उनले भने ।

सीमित स्रोत साधनको बिचमा धेरै कामहरु गर्नुपर्ने भएकाले उपयुक्त सुझावहरु पहिचान गरी कार्यान्वयन गर्ने मन्त्री पौडेलको आश्वासन छ ।

  

तपाईंको बिचार