Tuesday, August 22, 2017

संसारकै चर्चीत अनलाईन अलिबाबामा गोल्डस्टार जुत्ता

प्रकाशित मिति: 2016/04/30

वैशाख१८,काठमाडौं । नेपाली जुत्ता गोल्डस्टार संसारकै चर्चीत अनलाईन मार्केटप्लेस कम्पनी अलिबाबाको अनलाईन सपिङ साइटमा बिक्रीका लागि राखिएको छ । दैनिक अर्बौ कारोबार हुने अलिबाबामा नेपालबाट प्रतिनिधित्व गर्ने पहिलो कम्पनी बनेको छ ।

माओवादी जनयुद्धको समयमा स्वदेशमा लोकप्रिय बनेको यो ब्रान्डले विश्वबजारमा समेत स्थापित ब्रान्ड बनाउन सफल भएको छ ।मर्निङ वाक, सैनिक, प्रहरी तथा लडाकुहरुको रोजाईमा परेको गोल्डस्टार जुत्ताको माग विश्वबजारमा पनि छ । किन छ त विश्वमा नेपाली जुत्ता गोल्डस्टारको आकर्षण ?
भारत लगायत अन्य दक्षिण एसियाली तथा मध्य पूर्वी मुलुकका मध्यम वर्गका मानिसहरुका माझ गोल्डस्टार लोकप्रिय छ।

भारतको विभिन्न प्रान्तमा यसका आधिकारिक विक्रेताहरु रहेपनि पाकिस्तान लगायतका दक्षिण एसियाली मूलुकहरु तथा मध्यपूर्वी मूलुकहरुमा पनि अर्डर अनुसारका जुत्ताहरु निर्यात हुने गरेको युनिभर्सल ग्रुपका कार्यकारी सदस्य सुरेन्द्र निरौलाले जानकारी दिए । निरौलाका अनुसार खासगरी इटालियन प्रविधिबाट बनाइने हुनाले गोल्डस्टारका जुत्ताहरु निकै बलिया हुन्छन्। यसले जुत्ताहरु ठुलो परिमाणमा उत्पादन गर्ने भएकाले यसको मुल्य तुलनात्मक रुपमा सस्तो रहेको उनले बताए   ।

नेपालमा उत्पादन हुने जुत्ताहरुमध्य ८० प्रतिशत जुत्ताहरु विदेशमा निर्यात हुने गरेका छन् । त्यसमध्य निर्यातहुने अधिकांश जुत्ताहरुमा गोल्डस्टार जुत्ताले एकछत्र राज गरेको फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसनका अध्यक्ष रविन कुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार गत वर्ष विदेशमा साढे दुई अर्ब नेपाली जुत्ता निर्यात भएका छन् । त्यसबाहेक वार्षिक रुपमा करिब ४० करोड बराबरको विशेष जुत्ताहरु युरोपका विभिन्न मुलुकमा निर्यात हुनेगरेको उनले जानकारी दिएका छन्।
नेपाली जुत्ता बजारले अहिलेसम्म स्वदेशमा ६५ प्रतिशत माग पुरा गर्न सकेको श्रेष्ठले बताए। नेपाली जुत्ता उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा नेपाल पूर्णरुपमा आत्मनिर्भर बन्न सकेका छैनन्। नेपाली जुत्ता उत्पादनमा ३० प्रतिशत मात्र कच्चा पदार्थ पाइने र बाकी कच्चा पदार्थ बाहिरबाट आयात हुने गरेको उनले जानकारी दिए।श्रेष्ठका अनुसार नेपालमा करिब आठ सय ५० देखि नौ सयसम्मका घरेलु उद्योग र दुई सय ५० वटा उद्योग दर्ता भएका छन् । देशभरमा करिब दुई हजार जुत्ता तथा चप्पल उद्योगहरु सञ्चालनमा रहेका छन् ।    

तपाईंको बिचार