Saturday, December 16, 2017

बैंकहरुको नाफा बढ्दो

प्रकाशित मिति: 2016/05/02

वैशाख २०,काठमाडौं ।  मुलुकमा उत्पन्न प्रतिकूल अवस्थाका बाबजुद बैंकहरुले यो वर्ष नाफा बढाएका छन्। विभिन्न बैंकहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरणहरु सार्वजनिक गरिरहेका छन्। उनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा बढेको देखिएको छ।

चालु वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने सिटिजन्स बैंक पहिलो हो । यसले चैत मसान्तसम्मा ६७ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । पोहोरभन्दा यस वर्षको नौ महिनामा यसले २६ करोड रुपैयाँले नाफा बढाएको छ । गत वर्ष सिटिजन्सले सो अवधिमा ४५ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सानिमा बैंकले गत वर्षको तुलनामा यस वर्ष २४ करोड रुपैयाँले नाफा बढाएको छ । यस अवधिमा सानिमाले पनि ६७ करोड चार लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

ग्लोबल आइएमई बैंकले एक अर्ब तीन करोड नाफा कमाएको छ । पोहोर उक्त अवधिमा ग्लोबलको नाफा ८० करोड ९६ लाख थियो । यसपालिको ग्लोबलको नाफा पोहोरको भन्दा २२ करोड रुपैयाँले बढी हो ।

सबैभन्दा कान्छो सेन्चुरी बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । पुस मसान्तसम्ममा यसको नाफा १६ करोड रुपैयाँ थियो । सेन्चुरीले पोहोरको तुलनामा चार प्रतिशतले नाफा बढाएको हो ।

भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीले देशको अर्थतन्त्र थिल्थिलो भए पनि बैंकको नाफामा त्यसको असर सामान्यमात्र परेको बैंकर बताउँछन् ।

भूकम्पको असर देशका २७ जिल्लामा बढी र्पयो । त्यसमध्ये पनि १४ जिल्ला अति प्रभावित भए । ती जिल्लाका आयोजनामा भूकम्पले क्षति र्पुयाए पनि धेरैजसोको बिमा गरिएकाले त्यसको भार बिमा कम्पनीलाई पर्न गएको एक बैंकरको भनाइ छ । अधिकांश आयोजनामा बिमाबाट रकम आएको छ । जसका कारण बैंकहरुलाई क्षति कम भएको हो ।

मुलुकभर तराई–मधेस आन्दोलन र नाकाबन्दीको असर र्पयो । करिब ६ महिना लामो आन्दोलनले देशको अर्थतन्त्रलाई प्रभाव पार्नु स्वभाविक थियो ।

प्रतिकूल अवस्थामा पनि उद्योगीले बैंकबाट लिएको ऋणको ब्याज तिरे । उनीहरुले तराई–मधेस आन्दोलन र नाकाबन्दीको समयमा उत्पादन कम गरे तर त्यो बेला मनग्य भाउ बढाए र आम्दानी प्रशस्त गरे । त्यो बेलामा व्यापारीहरुलाई पहिले जति नाफा त भएन होला तर बैंकको ब्याज तिर्ने पैसा भने कमाएको एक बैंकर बताउँछ ।

भूकम्पले सिमित जिल्लामा मात्र असर पा¥यो । नाकाबन्दीले सबै ठाँउमा प्रभाव पारे पनि त्यसको असर बैंकिङ क्षेत्रमा कम परेको नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिल शाहले बताए ।   

अहिलेसम्म बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा खराव कर्जा बढेको छैन् । बैंकहरुले लगानी गरेको रकमको साँवा ब्याज उठिरहेको शाहले बताए ।  

 
नाकाबन्दी खुलेसँगै बैंकबाट ऋण लिने बढेका छन् । बैंकिङ प्रणालीमा रहेको तरलता विस्तारै कम हुन जाने बैंकरहरु बताउँछन् ।
 

 

तपाईंको बिचार