Tuesday, August 22, 2017

सवा खर्ब रुपैयाँ नयाँं नोट ल्याउँदै राष्ट्र बैंक

प्रकाशित मिति: 2016/06/01

जेठ १९,काठमाडौं । बजारमा १ खर्ब २६ अर्ब रुपैयाँ बराबरका नयाँ नेपाली नोट आउने भएका छन्। २०, ५० र सय दरका नोट धमाधम विदेशमा छापिँदै छन् भने ५ सय दरका नोट छाप्न नेपाल राष्ट्र बैंकले हालै बोलपत्र आह्वान गरेको छ। अगामी वैशाखसम्ममा ती सबै नेपाली नोट नेपाल आइपुग्ने राष्ट्र बैंकको भनाइ छ।

 
पहिलो खेपमा सय दरका ८ करोड थान आउने मुद्रा व्यवस्था विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए । ’कुल २० अर्ब मूल्य बराबरका सय दरका नयाँ नोट ल्याउँदै छौ,’ उनले भने, ’पहिलो चरणमा ८ अर्ब, त्यसपछि ६÷६ अर्ब बराबरका नयाँ नोट ल्याउने तयारीमा छौं ।’ सय दरका नयाँ नोट चीनमा छाप्ने काम भइरहेको कँडेलले जानकारी दिए । ’अहिले दु्रत गतिमा प्रिन्टिङ भइरहेको छ,’ उनले भने, ’एक सय दरका नयाँ नोट असार १५ (जुनको अन्त्य) सम्ममा आइपुग्ने छ ।’ सरकारले उक्त दरका नयाँ नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङ एन्ड सिक्टिङ कर्पोरेसनलाई दिएको छ ।

२० रुपैयाँ दरका २१ करोड थान (४ अर्ब २० करोड रुपैयाँ बराबर) ५० रुपैयाँका २४ करोड थान (१२ अर्ब रुपैयाँ बराबर) नोट बजारमा ल्याउने अन्तिम तयारीमा राष्ट्र बैंक पुगेको छ । ५० रुपैयाँ दरका नयाँ नोट छाप्न इन्डोनेसियन कम्पनीलाई दिएको छ । उक्त दरका नयाँ नोट ६ महिनाभित्र बजारमा आउने जानकारी राष्ट्र बैंकका एक अधिकारीले दिए । ५ सय दरका १८ करोड थान (९० अर्ब रुपैयाँ बराबर) का नोट छाप्न टेन्डर आह्वान गरिसकेको छ ।

केही महिनाअघि मात्र हजार दरका २ करोड ५० लाख थान (२५ अर्ब रुपैयाँ बराबर) का नयाँ नोट राष्ट्र बैंकले नेपाल भित्र्याएको छ । राष्ट्र बैंकले पछिल्लो समय कागजी ५, १०, २०, ५०, १००, ५०० र १००० का नोट छापिरहेको छ ।   

तपाईंको बिचार