Monday, May 29, 2017  |    

एनसेलबाट कर असुलेर मात्र पूँजी वृद्धि अनुमति दिन निर्देशन

प्रकाशित मिति: 2016/06/04

जेष्ठ २२,काठमाडौं ।  व्यवस्थापिका संसदको अर्थ समितिले एनसेलबाट कर असुल नगरी पुँजी वृद्धि लगायतका व्यावसायिक योजना अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार बिहान सिंहदरबारमा बसेको बैठकले उद्योग र सूचना तथा सञ्चार मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । एनसेलले पुँजी वृद्धिका लागि औद्योगिक प्रवर्द्धन बोर्डमा प्रस्ताव पेस गरेकै बेला अर्थ समितिबाट यस्तो निर्देशन आएको हो । समितिको निर्देशनपछि बोर्डले तत्कालै एनसेलको पुँजी वृद्धि प्रस्ताव स्वीकृत गर्न पाउने छैन । ’एनसेलबाट सम्पूर्ण कर असुली गरेसकेपछि मात्र सो कम्पनीको पुँजी वृद्धि लगायतका अन्य थप व्यावसायिक योजनारप्रस्तावहरू अघि बढाउन उद्योग मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिने,’ बैठकको निर्णयमा भनिएको छ ।

एनसेलले पुँजीगत लाभकर तिनुपर्ने भएकाले तत्काल तिर्नुपर्ने सम्पूर्ण कर असुल गरी समितिलाई जानकारी गराउन नेपाल सरकार तथा अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । ’कम्पनीबाट असुल गर्नुपर्ने सम्पूर्ण कर तत्काल असुल गरी अर्थ समितिलाई जानकारी गराउन नेपाल सरकार, अर्थ मन्त्रालयलाई निर्देशन दिने’ अर्थ समितिको निर्णयमा भनिएको छ ।

यसैगरी समितिले एनसेलको पटकपटक सेयर बिक्री कारोबार र स्वामित्व हस्तान्तरण हुँदा कम मूल्य राखी कर दाखिला गरिएको ठहर गरेको छ । यो अनियमिततामा संलग्नलाई छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न समितिले नेपाल सरकारलाई निर्देशन दिएको छ । एनसेलमा ८० प्रतिशत लगानी रहेको रेनोल्ड होल्डिङको सेयर बिक्री एवं स्वामित्व हस्तान्तरणमा आयकर छल्ने तयारी भएको थियो । तर, यस विषयमा विवाद चुलिनुका साथै नागरिक समाजबाट एनसेल बहिस्कार अभिायनसमेत सुरु भएपछि गत वैशाख अन्तिम साता एनसेलले करिब १० अर्ब रुपैयाँ ठूला करदाता कार्यालयमा जम्मा गरेको थियो ।

 

 

तपाईंको बिचार