Tuesday, March 28, 2017  |    

लक्ष्मी लघुबित्त र फस्टमाईक्रोको आयो प्रगति बिबरण

प्रकाशित मिति: 2016/07/19

श्रावण ४, काठमाडौं । फस्ट माईक्रो र लक्ष्मी लघुबित्तले मंगलबार एकसाथ बित्तीय बिबरण प्रकाशित गरी लगानीकर्ताहरुको ध्यान तानेका छन् । फस्ट माईक्रोले अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष ५० प्रतिशतले खुद नाफा बढाई ५ करोड ४४ लाख कमाएर प्रतिशत शेयर आम्दानी २३ रुपैयाँ पुर्याएको छ ।

फस्ट माईक्रोको २३ करोड रुपैयाँ मात्र चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा ७ करोड ८५ लाख रुपैयाँ छ । फस्टमाईक्रो राष्ट्रियस्तरमा थोक कर्जा प्रबाह गर्ने लघुबित्त भएकाले ब्याज आम्दानीमा तीब्र बढोत्तरी हुन नसक्नु स्वभाविक छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिको प्राबधानले फस्ट माईक्रासहितको थोक कर्जा प्रबाह गर्ने लघुवित्तलाई २०७५ साल असार मसान्तसम्म चुक्ता पूँजी ६० करोड पुर्याउनु पर्ने भएकाले बाँकी दुई बर्षमा सके जत्तिको बोनस र हकप्रद दिएर पूँजी बृद्धि गर्नुपर्ने बाध्यता यसलाई छ ।

उता लक्ष्मी लघुबित्तको खुद नाफा २८० प्रतिशतले बृद्धि भई ६ करोड २४ लाख र प्रति शेयर आम्दानी ५४ रुपैयाँ कायम भएको छ ।

लक्ष्मी लघुवित्तको ब्याज आम्दानीमा भारी बृद्धि हुनु नै खुद नाफामा बढोत्तरीको कारण हो । लक्ष्मी बैंकले प्रबर्दन गरेको लक्ष्मी लघुबित्तको चुक्ता पूँजी ११ करोड मात्र रहेको छ । निस्क्रिय कर्जा अनुपात गत बर्ष भन्दा बढे पनि ०.३० प्रतिशत मात्र रहनुले कम्पनीको राम्रो पक्ष मान्न सकिन्छ । लक्ष्मीको जगेडा कोषमा ७ करोड मात्र रहेको छ । लक्ष्मी लघुवित्तलाई पूँजी बृद्धिको चटारो नपरे पनि आफ्नो कारोबार बिस्तार र अबस्था बलियो बनाउन खुद नाफाको धेरै अंश पूँजी बृद्धिमा खचिर्ने आश गर्न सकिन्छ ।

 

तपाईंको बिचार