Thursday, June 29, 2017  |    

मुल्य बढाउँन नपाउँदा नाफा घट्यो : आयल निगम

प्रकाशित मिति: 2016/09/20

असोज ४, काठमाडौं । नेपाल आयल निगमको नाफा अघिल्लो महिनाको तुलनामा दुई तिहाईले घटेको छ। प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्दै आएको निगमको अगष्ट १६ को तुलनामा सेप्टेम्बरको सोही दिनसम्मको नाफामा दुईतिहाइ गिरावट आएको हो। केही इन्धनमा मूल्य घटाएको र भारतलाई तिर्ने मूल्य बढेका कारण नाफा घट्न गएको निगमले जानकारी दिएको छ।
 
अगष्ट १६ सम्मको एक महिना अवधिमा ४७ अर्ब नाफा कमाएको निगमले सेप्टेम्बर १६ मा भने जम्मा १७ अर्ब मात्र कमाएको छ। अघिल्लो महिनाको तुलनामा सबै इन्धनमा नाफा खुम्चिएकोले समग्रमा असर परेको निगमले जनाएको छ ।
 
प्रत्येक १५ दिनमा भारतीय आयल निगम आइओसीले नयाँ मूल्यसूची पठाउँछ, त्यसअनुसार प्रायः इन्धनको मूल्य बढेर आएको तर नेपालमा भने ति इन्धनको मूल्य नबढेको कारण  नाफा खुम्चिएको निगमको ठहर छ।
 
अघिल्लो महिना निगमले खरिद गर्ने पेट्रोलको मूल्य ३७ रुपैयाँ रहेकोमा यो महिना ४३ रुपैयाँ पुगेको छ। त्यस्तै डिजलको ३९ रहेकोमा यो महिना बढेर ४२ रुपैयाँ पुगेको छ। नेपालमा बिक्री हुने मूल्य भने स्थिर छ।
चाडपर्वको समय भएको र निगमले धेरै नाफा खायो भन्ने आरोप लागेका कारण सरकारको निर्देशन बमोजिम मूल्य नबढाएको निगमले बताएको छ।
 
समायोजन गर्दा मूल्य बढ्ने भएपनि दसैँ तिहारजस्ता मुख्य चाडपर्व आएकोले मूल्य नबढाउने मन्त्रालयको नीति अनुरुप निगमले समायोजन नगर्दा त्यसको प्रभाव नाफामा पर्न गएको हो।
 
निगमले केही समय अगाडि ग्यासमा प्रति सिलिन्डर ५० रुपैयाँ घटाएको थियो भने हवाई इन्धनमा पनि सामान्य मूल्य घटाएको थियो। हाल निगमको नाफामध्ये पेट्रोलमा ८, डिजलमा ४, हवाई इन्धनमा ३ र मट्टितेलमा ५ रुपैयाँ प्रतिलिटर गिरावट आएको छ। खाना पकाउने ग्यासमा पनि प्रति सिलिन्डर ७७ रुपैयाँ नाफा घटेको छ।
 

 

तपाईंको बिचार