Monday, May 29, 2017  |    

उपभोक्ताको सबैभन्दा बढी माग हुने समयमा उद्योगको साँझ ४ घण्टा विद्युत् कटौती

प्रकाशित मिति: 2016/11/10

कात्तिक २५, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिहीवारदेखि उद्योगलाई साँझ ४ घण्टा बिजुली नदिने भएको छ । आम उपभोक्तामा सबैभन्दा बढी माग हुने समय साँझ साढे ४ बजेदेखि साढे ८ बजेसम्म उद्योगमा बिजुली नदिइने प्राधिकरणले जनाएको छ ।

तिहारयता काठमाडौंलाई लोडशेडिङमुक्त राखेको प्राधिकरणले यी दिनहरूमा लोडशेडिङ व्यवस्थापनमा प्रमुखताका साथ काम गरिरहेको छ । अहिले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोकको बनेपा हुँदै पाँचखालसम्म नै लोडशेडिङ छैन । ‘भारतबाट कात्तिक १६ गतेबाट ल्याइएको थप ७५ मेगावाट, कात्तिक १९ गतेबाट नियमित सञ्चालन भएको २५ मेगावाटको माथिल्लो मस्र्याङ्दी ए र साँझ १ घण्टाको हाराहारीमा सञ्चालनमा ल्याइएको कुलेखानीको पहिलो र दोस्रोको गरी ९२ मेगावाट गरेर हालको काठमाडौंको माग धान्न सकिएको  प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी विद्युत् उपभोग हुने काठमाडौंमा अधिक माग रहेको समय बेलुका करीब ३ सय र बिहान करीब २ सय ७० मेगावाट भए पुग्ने अवस्था रहेको प्राधिकरणका प्रवक्ता अधिकारी बताउँछन् । त्यसैगरी रातको समयमा सबैभन्दा कम १ सयदेखि १ सय २५ मेगावाट मात्र माग छ ।

धेरै महशुल बक्यौता रहेका ग्राहकको लाइन काट्ने अभियान अघि बढाइरहेको नेपाल विद्युत् प्राधिकरणले चुहावट नियन्त्रणको अभियान पनि थालेको छ ।

आठओटै क्षेत्रीय कार्यालयमा टोली खटाई अनुगमन गरिने प्राधिकरणले बताएको छ । सोको शुरुआतस्वरूप बुधवार एक टोली विराटनगर क्षेत्रीय कार्यालयका लागि परिचालन भइसकेको छ । पहिलो चरणमा डेढ महीनाभित्र अनुगमन सक्ने र त्यसैअनुसार प्रक्रिया पनि अघि बढाइने प्राधिकरणले जनाएको छ ।

तपाईंको बिचार