Saturday, December 16, 2017

नेपाल र जापानबीच सम्झौता भएपछि बन्ने भयो नागढुंगा सुरुङ मार्ग

प्रकाशित मिति: 2016/12/22

पुस ७, काठमाडौं । जापानले राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा यातायात सहजताका लागि सुरुङ (टनेल) मार्ग निर्माण गर्ने पक्का भएको छ । उक्त टनेल निर्माण सम्बन्धी सम्झौता बिहीबार अर्थ मन्त्रालयमा सम्पन्न भएपछि जापानले निर्माण गर्ने पक्कापक्की भएको हो । 

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको उपस्थितिमा बिहीबार अर्थ मन्त्रालयमा भएको उक्त सम्झौताले लामो समयदेखि गफमा मात्रै सिमित रहेको उक्त आयोजना अघि बढ्ने भएको हो । सम्झौतामा ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि जापानले १५ अर्ब ४० करोड ५० लाख रुपैयाँ ऋण उपलब्ध गराउने र त्यसमा अपुग रकम नेपालले थपेर आयोजना सम्पन्न गर्ने योजना छ ।
 
२ दशमलव ४५ किलोमिटर लम्बाई रहने सुरुङ मार्ग जापानी सहयोग नियोग (जाइका) ले अन्तर्राष्ट्रिय बिडिङमार्फत निर्माण गर्नेछ । उक्त सुरुङ मार्ग नागढुंगाको चेकपोस्ट नजिकको फाँटबाट सिस्ने खोलाको तल्लो भाग निस्कने छ । 

त्यसको लिंक रोड काठमाडौंको सीतापाइलासम्म हुनेछ । परियोजनाको सम्भाव्यता अध्ययन जाइकाले पूरा गरिसकेको भए पनि मुअब्जा दिनेदेखि धेरै कामहरु पहिला सक्नपर्ने हुनाले काम भने सन २०१९ मा आरम्भ हुनेछ ।

अर्थ सचिव डा. शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आयोजना सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सोही अवसरमा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्याल र जापानी सहयोग नियोग (जाइका) का नेपाल प्रमुख जुन साकुमाले ऋणपत्रमा हस्ताक्षर गरेका हुन् ।
 
सन् २०१५ मा नै सम्झौता हुने र काम अघि बढ्ने भनिए पनि नाफा र घाटाको विषयमा रस्साकस्सीले दुई वर्ष समयम खेर गएको हो । ढिलै भएपनि पहिलो सुरुङ मार्ग बन्ने निश्चित भएको छ । विद्युत आयोजनाहरुमा टनेल मार्ग हुने भए पनि व्यवसायिक रुपमा रहने सुरुङमार्ग यो नै पहिलो हो । निर्माणका लागि करिब २२ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । 

तपाईंको बिचार