Sunday, March 26, 2017  |    

२५ मेगावाटको अपरमादी जलविद्युतको निर्माण सम्पन्न

प्रकाशित मिति: 2016/12/30

पुस १५, कास्की ।  आयोजना सुरु भएको ४ वर्षमै अपरमादी जलविद्युत् निर्माण पूरा भएको छ । विद्युत्गृह, लेखनाथ सबस्टेसनमा जडित मेसिन तथा उपकरणहरू सफलतापूर्वक परीक्षण गरी आयोजनाले पुस ५ देखि विद्युतको उत्पादन परीक्षणसमेत गरिरहेको छ । विद्युतगृहमा १२ दशमलव ५ मेगावाट क्षमताका दुईवटा ‘फ्रान्सिस टर्वाइन’ जडान गरिएका छन् । 

चार हजार दुई सय मिटर लामो सुरुङमा मादी नदीको पानी ल्याएर १ सय १६ मिटर ‘पेनस्टक पाइप’ मार्फत बिजुली उत्पादन भएको छ । हाललाई एउटा मात्रै टर्बाइन सञ्चालनमा ल्याएर विद्युत् उत्पादन परीक्षण भइरहेको छ । 

मादी पावर प्रालिले करिब छ करोड ६० लाख (६६ मिलियन अमेरिकी डलर) को लागतमा आयोजना निर्माण भएको हो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले ०६९ पुस ९ मा शिलान्यास गरेको आयोजनामा कार्यकारी निर्देशक तथा स्वदेशी सञ्चालक विजयबाबु मल्लको २० र चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई) को ८० प्रतिशत लगानी छ । चार वर्षको मिहिनेतमा विद्युत् उत्पादन गर्न सफल भएका हो । बाँधस्थलमा २ पटकसम्म पहिरो, भूकम्प, नाकाबन्दीका कारण इन्धन, निर्माण सामग्री आयातलगायतमा समस्या भएर केही समय ढिलाइ भएको हो । 

आयोजनाले ०६७ वैशाख २७ मा उत्पादन अनुमति लिएको भए पनि डेढ वर्ष ढिलो काम सुरु गरेको थियो । विदेशी लगानी भित्र्याउने क्रममा आयोजनाको डिजाइन परिवर्तनको पनि अध्ययन गर्दा देखिएको ५ मेगावाट क्षमता वृद्धिले गर्दा पनि निर्माण कार्य केही ढिला हुन गएको आयोजनाले जनाएको छ । सुरुमा २० मेगावाट मात्रै भनिएकामा पछि ५ मेगावाट थपिएको हो । आयोजनाको ०६६ भदौ २१ को विद्युत् खरिद सम्झौता (पीपीए) गर्दा प्रतियुनिट वर्षातमा ४ र हिउँदमा ७ रुपैयाँमा सम्झौता भएको छ । 

उत्पादित बिजुली साढे १० किलोमिटर टाढाको लेखनाथस्थित विद्युत् प्राधिकरणको सबस्टेसनबाट पुर्‍याइनेछ । आयोजना चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले निर्माण गरेको हो ।

तपाईंको बिचार