Wednesday, March 29, 2017  |    

हेटौँडामा असल व्यावसायिक संस्कार प्रवद्र्धन गर्दै ट्रान्सपरेन्सी र एनसेल

प्रकाशित मिति: 2015/07/04

असार , काठमाडौं (अस) । व्यावसायिक संस्कारमा सुधार भए भष्ट्राचार न्यूनीकरण हुने सरोकारवालाले बताएका छन् । असल व्यावसायिक संस्कार बसाउन सबै पक्षको संयुक्त प्रतिबद्धता आवश्यक रहेको भन्दै उनीहरूले सबै पक्षमा हुने भष्ट्राचार कम हुनुपर्ने धारणा राखेका हुन् । एनसेलको सहयोगमा ट्रान्सपरेन्सी इण्टरनेशनल नेपाल र उद्योग वाणिज्य सङ्घ मकवानपुरद्वारा आइतवार हेटौंडामा भएको क्षेत्रीय गोष्ठीका सहभागीले उक्त विचार राखेका हुन् । व्यवसायमा असल संस्कार बसाउन सके भ्रष्टाचार घट्ने संसारभरको अनुभव रहेको कार्यक्रममा ट्रान्सपरेन्सी इण्टरनेशनल नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले बताए । 

देशमा भ्रष्टाचार बढ्नुको प्रमुख कारण अस्थिर राजनीति रहेको चर्चा गर्दै उनले भ्रष्टाचार बढ्को दोष सरकार या निजीक्षेत्र कुनै एक पक्षलाई मात्र दिन नमिल्ने धारणा राखे । भ्रष्टाचार न्यूनीकरणका लागि राजनीतिक दल, प्रशासन, प्रहरी, व्यवसायी र नागरिक स्तरबाटै सुधारको प्रयास हुनुपर्ने कार्यक्रमका सहभागीहरूले बताए । कार्यक्रममा नागरिक समाजका प्रतिनिधिले व्यवसायीबाट पनि बढी पैसा कमाउने लोभमा अखाद्य वस्तु मिसाउने र गुणस्तरहीन सामग्री उपभोक्तामाझ पठाउने गरेको गुनासो गरेका थिए ।
कार्यक्रममा मकवानपुर उवासङ्का अध्यक्ष राजकुमार न्यौपानेले अव्यावहारिक तथा अस्पष्ट कानूनी प्रावधान, अपारदर्शी प्रक्रिया, कर्मचारीमा स्वविवेकीय अधिकार र जवाफ दिन नपर्ने प्रवृित्तले असल व्यवसायिक संस्कारको विकासमा चुनौती थपिएको बताए ।

एनसेलका कानून निर्देशक अम्बर थापाले ट्रान्सपरेन्सी इण्टरनेशनल नेपाललगायत निकायसँगको साझेदारीमा असल व्यावसायिक आचरण प्रवद्र्धनमा एनसेल सक्रिय भएको बताए ।
असल व्यावसायिक संस्कार प्रवद्र्धनका लागि ट्रान्सपरेन्सी इण्टरनेशनल नेपालले देशका विभिन्न क्षेत्रमा क्षेत्रीय गोष्ठी आयोजना गरिरहेको ट्रान्सपरेन्सी नेपालले जानकारी दिएको छ । यसअघि नेपालगञ्ज, विराटनगर र पोखरामा यस्तै प्रकारको गोष्ठी सम्पन्न भइसकेको छ ।

तपाईंको बिचार