Thursday, November 23, 2017

नयाँ प्रविधिको प्लान्ट सहित साढे दुई अर्बको लागतमा चिनी उद्योग खुल्दै

प्रकाशित मिति: 2015/07/05

असार, लहान । सिरहाको चन्द्रोदयपुर गाविसको चोहर्वामा करीब रू. अर्ब ५० करोडको लागतमा स्थापना गरिएको हिमालय सुगर मिल्स सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ । 

दैनिक ५० हजार क्विन्टल उखु क्रसिङ् गरी तीन हजार मेट्रिक टन चिनी उत्पादन गर्ने क्षमता रहेको सो उद्योग आगामी मङ्सिर १ गतेदेखि परीक्षण उत्पादन गर्ने गरी उपकरण जडानको काम भइरहेको छ । मिल्सका उखु प्रबन्धक अरुणकुमार सिंहका अनुसार पुस १ गतेदेखि चिनी उत्पादन शुरु गरिनेछ । चोहर्वा–सिरहा सडकखण्डमा पर्ने उक्त उद्योग ५८ बिघाहा क्षेत्रफलमा फैलिएको छ । 
 
नेपालको अन्य जिल्लामा सञ्चालनमा रहेका ११ ओटा चिनी उद्योगमा नरहेको प्रशोधन गर्ने नयाँ प्रविधिको प्लान्ट आफ्नो उद्योगमा जडान गरिएको सिंहले बताए । उद्योगमा रू. पाँच करोडको लागतमा नयाँ प्रविधिबाट चिनी प्रशोधन गर्ने नयाँ ‘प्लान्ट’ जडान गरिएको छ । “उद्योगमा जडान गरिएको पाँच मेगावाट क्षमताको टर्वाइनबाट उखु क्रसिङ् गरेपछि उमाल्दा निस्किने बाफबाट बिजुली समेत उत्पादन गरी उद्योग सञ्चालन गर्न सकिनेछ” उनले भने ।   

उद्योगबाट हुने चिनी उत्पादनसहित तौल, क्रसिङ्, उमाल्ने, चिनी प्रशोधनसहित सबै विभाग ‘कम्प्युटराइज’ प्रविधिमा आधारित भएकाले बढीमा ३ सय जनासम्म मजदुरले काम गर्ने उनको भनाइ छ । उद्योगपति सरेशप्रसाद सर्राफ र शशि अग्रवालको साझेदारीमा उक्त मिल सञ्चालनको तयारीमा रहेको हो । रासस

तपाईंको बिचार