Saturday, June 24, 2017  |    

भारतलाई नदिई नेपाल आफैले बनाउने हुलाकी राजमार्ग

प्रकाशित मिति: 2017/01/08

पुस २४, काठमाडौं । काठमाडौं–तराई–मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग निर्माण गर्न नेपाल सक्रिय भएको छ। भारतको आर्थिक तथा प्राविधिक सहयोगमा बनाउन खोजिएको हुलाकी राजमार्ग विभिन्न कारणले बन्न नसकेपछि नेपालले भारतीय ठेकेदारसँग सम्झौता तोडेर आफ्नै पहलकदमीमा बनाउन थालेको हो। हुलाकी राजमार्ग निर्माणका लागि भारतको सहयोग भने लिइने भएको छ।

पहिला भारतसँग सिमाना जोडिएका तराईंका २० जिल्ला समेटिने पूर्व–पश्चिम राजमार्गको समानान्तर हुने गरी बनाइने भनिएको हुलाकी राजमार्गमा लाग्ने सबै खर्च भारत सरकारले बेहोर्नुका साथै ठेकेदार कम्पनी र प्राविधिक पनि भारतीय नै हुने व्यवस्था थियो।

सन् २००७ यता हुलाकी राजमार्गका केही खण्डमा भारतीय निर्माण कम्पनीले एकलौटी रूपमा काम थाले पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको थिएन। जसले गर्दा स्थानीय तहमा भारत र नेपालका अधिकारीको विरोध भइरहेको थियो। स्थानीय तहमा विरोधका स्वर बढ्न थालेपछि अघिल्लो वर्ष नेपालले भारतीय ठेकेदार कम्पनीसँग सम्झौता रद्द गरी राजमार्गको निर्माण कार्य आफ्नै पहलकदमीमा गर्ने निर्णय गरेको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१६  फेब्रुअरी २० मा भारत भ्रमण गर्दा पहिलो चरणमा ५१८.५ किलोमिटर सडक बनाउने र यसका लागि भारत सरकारले ८ अर्ब रुपैयाँ अनुदान दिने सम्झौता भएको थियो। यद्यपि पहिलो चरणको हुलाकी राजमार्ग सम्पन्न गर्न १३ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजना सुरु गर्ने बेला सबै लागत भारत सरकारले बेहोर्ने भनिए पनि गत वर्ष ८ अर्ब रुपैयाँमात्र दिने दुई देशका अधिकारीबीच सम्झौता भएपछि  यतिखेर हुलाकी राजमार्ग आयोजनाले भारत र नेपालले सम्पन्न गर्ने गरी विभिन्न खण्डलाई वर्गीकरण गरेको छ।

जस अनुसार पहिलो चरणमा भारत सरकारको अनुदानमा १० र नेपाल सरकारको अनुदानमा ६ वटा सडक खण्ड बन्ने तय भएको आयोजना प्रमुखले बताए। भारतीय ठेकेदार कम्पनीले समयमा काम नसकेपछि ठेक्का तोडेर भारतीय अनुदानमा बन्ने तय भएका हुलाकी राजमार्ग अन्तर्गतका तीन खण्डमा ठेक्का भइसकेको छ भने एक खण्ड ठेक्काको अन्तिम प्रक्रियामा छ।

तपाईंको बिचार