Wednesday, March 29, 2017  |    

विद्युत् चोरको नयाँ शैली

प्रकाशित मिति: 2017/01/13

पुस २९, भक्तपुर । सामान्यतया कसैले पत्ता लगाउन नसक्ने विशेष प्रकारको विद्युत् चुहावट भक्तपुरमा हुने गरेको पत्ता लागेको छ । विद्युत्को खपत मापन गर्ने मिटरभित्रै तार घुसाएर (मिटरमा इन्टरनल लुक) विशेष प्रकारले भक्तपुरमा विद्युत् चुहावट हुने गरेको पत्ता लागेको हो । भक्तपुरमा देशको कुनै पनि ठाउँमा फेला नपरेको विशेष प्रकारको चुहावट पहिलोपटक फेला परेको प्राधिकरणले जनाएको छ । यस्तो चोरी विद्युत् प्राधिकरणका कर्मचारीबाहेक कसैले पनि पत्ता लगाउन सक्दैनन् ।

नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले विद्युत् चुहावटविरुद्ध थालेको अभियानका क्रममा लामो समयको अध्ययनपछि विशेष प्रकारबाट विद्युत् चुहावट हुने गरेको फेला पारेको हो । कार्यालय प्रमुख विक्रम अमात्यका अनुसार हुकिङ राखेर विद्युत् चुहावट हुने गरेको यसअघि फेला परे पनि प्राधिकरणका प्राविधिकको विशेष अनुसन्धानबाट फरक खालको विद्युत् चुहावट फेला पारेको हो । यस्तो चोरी स्थानीय बिजुलीको काम गर्ने व्यक्तिको मिलेमतोमा मात्र सम्भव हुने गरेको पाइएको छ ।

 बाहिरबाट मिटर हेर्दा सब ठीक देखिन्छ, मिटर चेकजाँच गर्दा भित्र लुक अर्थात् सिल बालेर विद्युत् खपत कम गराउने गरी पेसेवर व्यक्तिबाट यस्तो कार्य हुने गरेको पाइएको हो । त्यस्ता पेसेवर व्यक्तिले एउटा मिटर जोडेबापत कम्तीमा २ हजार लिने गरेको खुल्न आएको छ । मिटरमा खपत घटाउने खालको यस्तो चोरी प्राधिकरणले विभिन्न ठाउँमा खपत क्षमतालाई आधार बनाएर पत्ता लगाएको जनाएको छ ।

प्राधिकरणका इन्जिनियर अनिल अधिकारीकाअनुसार पेसेवर त्यस्ता व्यक्तिहरूले मिटर राख्ने कोठामा कसैलाई पनि पस्न नदिने र अन्धकार कोठामा गएर मिटरमा तार घुसाएर खपत घटाउने कार्य गर्ने गरेको समातिएका ग्राहकबाट सूचना प्राप्त भएको उनले बताए । उनीहरूले अरूले त्यस्तो कार्य सिक्ने डरले एक्लै बन्द अन्धकार कोठामा लाइट बालेर त्यस्तो गैरकानुनी कार्य गर्ने गरेका पाइएको ई अधिकारीले बताए ।

सबैभन्दा बढी विद्युत् खपत हुने ठाउँका केही व्यक्तिको घरको विद्युत् मिटर चेकजाँच गरी अनुसन्धान गर्दा यस्तो विशेष प्रकारको चोरी पत्ता लगाइएको उनले बताए । भक्तपुरमा यस्तो पेसेवर गिरोह नै सक्रिय रहेको पाइएको छ । उनीहरूले विभिन्न ठाउँमा गएर दैनिक दर्जनौं मिटर बिगारी आम्दानी गर्ने गरेको ई अधिकारीले बताए । अन्य चोरीको तुलनामा मिटरमा तार घुसाएर गरिने चोरी राज्यका लागि व्यापक क्षति हुने गरेको छ । प्राधिकरणले विद्युत् खपत हुने केही ठाउँको नमुनाका रूपमा मासिक विद्युत् महसुललाई आधार बनाएर लामो अनुसन्धानबाट मात्र पत्ता लगाएको जनाएको छ ।

मासिक लाखौंको विद्युत् खपत गर्ने गरे पनि त्यस्ता ग्राहकले मासिक ८० रुपैयाँभन्दा बढी महसुल बुझाउने गरेका छैनन् । यसको एउटै कारण मिटरमा तार घुसाएर खपत कम गरेकै कारण भएको ई अधिकारीले बताए । त्यस्ता ग्राहकहरूको सूची तयार पारेर प्राधिकरणले प्रहरीको सहयोगमा छापा मार्ने र चुवाहटविरुद्धको अभियान थप सशक्त बनाएको छ । प्राधिकरणले सुरुमा ग्राहकलाई जनचेतना, दोस्रो चरणमा पर्चा पम्पलेट र तेस्रो चरणमा विभिन्न विद्यालयमा जनचेतनासम्बन्धी कक्षा सञ्चालन गरेर अभियान थालेको थियो । प्रचार–प्रसारको अभियान सम्पन्न गरेसँगै अत्यधिक चुहावट हुने क्षेत्र छानेर विभिन्न रणनीति बनाउँदै ग्राहकको नामावली तयार पारेको थियो । त्यसपछि ग्राहकको सूचीअनुसार विद्युत् चुहावटविरुद्ध अपरेसन थालेको प्राधिकरणले चाँगुनारायण र नगरकोट नगरपािलकामा तीनवटा ट्रान्सफरमरबाट करिब ३ सय घरधुरीले खुलेआम हुकिङ प्रयोग गरेर विद्युत् चुहावट गरेको फेला पारी उनीहरूलाई कारबाही गरेको थियो ।

कार्यालयले विद्युत् लाइन नै काटेर अन्धकार बनाएपछि स्थानीय विभिन्न संघ संस्था, नागरिक समाज डेलिकेसन आएपछि मिटरका कारण बाध्यताले विद्युत् चुहावट गरेको भन्दै कानुनी दायरामा आउने प्रतिबद्धता जनाएपछि पुर्जा नभएकालाई पनि १० हजार धरौटी राख्न लगाएर ५० वटा मिटर तुरुन्त वितरण गरिएको थियो ।

त्यस्तै, अभियानका क्रममा कार्यालयले लिवाली, आदर्श आजाद, राजमार्ग आसपास क्षेत्रमा छापा मारेर ४ जनालाई प्रक्राउ गरेकोे थियो । प्राधिकरणले कार्यालयको काममा बाधा नपुग्ने गरी हप्तामा तीनपटक छड्के अनुमगन गरिरहेको छ । बिहीबार मात्र विभिन्न ठाउँमा छापा मारेर दर्जनौं मिटर जफत गरिएको कार्यालयले जनाएको छ । विद्युत् चुहावट कारखाना, स्कुल, सहकारी, खानेपानी समिति, डिपबोरिङ, सांस्कृतिक सम्पदा, मठ–मन्दिरमा पनि बढी हुने गरेको पाइएको छ । प्राधिकरणका अनुसार भक्तपुरमा सानातिना व्यक्तिहरूबाट भन्दा ठूलाठूला सम्पन्न व्यक्तिहरूबाटै विद्युत् चुहावट हुने गरेको छ । –राजधानी दैनिक

तपाईंको बिचार