Sunday, April 23, 2017  |    

राष्ट्रिय प्रसारणमा १ मेगावाट बिजुली थपियो

प्रकाशित मिति: 2017/01/15

माघ २, खोटाङ । राष्ट्रिय प्रसारण लाइनमा खोटाङको एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावर थपिएको छ । जिल्लालाई लोडसेडिङमुक्त बनाउने लक्ष्य साथ साप्सु–कालिका हाइड्रोपावर कम्पनीले पूरा गरेको हाइड्रोपावर उद्घाटनसँगै राष्ट्रिय प्रसारणमा एक मेगावाट विद्युत थपिएको हो ।

दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवाखोला दोभानबाट निकालिएको हाइड्रोपावर शुक्रबार राप्रपा नेपाल अध्यक्ष कमल थापाले उद्घाटन गरे । गत मंसिर १८ गतेदेखि दिक्तेल–गाईघाट ११ केभिए ट्रान्समिसन लाइनको बुइपास्थित सबस्टेसनमा जोडेर परीक्षण प्रसारणमा छाडिएको हाइड्रोपावरलाई महिना दिनपछि उद्घाटन गरिएको हो ।

समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको अगुवाइमा बैंक अफ काठमाडौंको ७० प्रतिशत गरी २२ करोड रुपैयाँभन्दा बढीको लागतमा हाइड्रोपावरको काम पूरा भएको साप्सु–कालिका हाइड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशकले जानकारी गराए । मेवाखोला जिल्लामा पूरा भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । केन्द्रीय प्रसारण लाइनमा जोडिए पनि स्थानीय स्तरमै प्रयोग गर्न मिल्ने गरी पूरा गरिएको हाइड्रोपावरले लोडसेडिङको मार खेपिरहेका जिल्लावासी उत्साहित छन् । हाइड्रोपावर उद्घाटन कार्यक्रममा सयौं स्थानीयको उपस्थिति रहेको थियो ।

०७२ असोजमा बत्ती बाल्ने भनिएको हाइड्रोपावरको काम लगातार दुईपटक आएको बाढी, भूकम्प र भारतीय नाकाबन्दीका कारण वर्ष दिन पछाडि धकेलिएको थियो । पाँच वर्षअघि सम्पन्न खोटाङको १८औं जिल्ला परिषद्ले जिल्लालाई लोडसेडिङ मुक्त बनाउने योजना पारित गरेपछि मेवाखोला लगायत हाइड्रोपावरको कामलाई द्रूत गतिमा अघि बढाइएको थियो ।

तपाईंको बिचार