Tuesday, May 23, 2017  |    

निगमले पेट्रोलियम पदार्थबाट ५ प्रतिशत भन्दाबढि नाफा लिन नपाउने

प्रकाशित मिति: 2017/01/18

माघ ५, काठमाडौं । नेपाल आयल निगमले अब पेट्रोलियम पदार्थमा परल मूल्यको पाँच प्रतिशतभन्दा बढी नाफा लिन नपाउने भएको  छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका बेला स्थानीय बजारमा २० प्रतिशतसम्म नाफा राख्न थालेपछि सरकारले निगमको नाफामा कडाइ गर्ने भएको हो । हाल पेट्रोलमा १२ प्रतिशतसम्म र डिजेलमा एक प्रतिशत मात्रै नाफा राख्न पाइने व्यवस्था भए पनि निगमले  कार्यविधि उल्लंघन गरेर २० प्रतिशतसम्म नाफा राखेर इन्धन बिक्री गर्दै आएको थियो ।

निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गर्दा परल मूल्यमा पाँच प्रतिशतभन्दा बढी नाफा राख्न नपाइने व्यवस्था गरिएको हो ।

आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ परिमार्जन गरी यस्तो व्यवस्था गर्न लागेको हो । 

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएपछि निगमले मूल्य  स्थिरीकरण कोषमा जम्मा भएको रकमबाट मूल्य समायोजन गर्नुपर्ने व्यवस्था गरिएको छ । अबदेखि निगमले  डिजेल र पेट्रोलमा परल मूल्यको पाँच प्रतिशतभन्दा बढी नाफा राख्न पाउँदैन । यसअघि बढी नाफा राखेर मूल्यबृद्धि गर्दा त्यसको प्रत्यक्ष असर उपभोक्ताले खेप्नुपरेको थियो ।

कार्यविधिको मस्यौदामा निगमले डिजेल तथा पेट्रोलको परल मूल्यमा न्यूनतम २.५ तथा अधिकतम पाँच प्रतिशतभन्दा बढी नाफा राख्न नपाइने व्यवस्था गरिएको छ ।

तपाईंको बिचार