Sunday, April 23, 2017  |    

अब मापदण्ड पूरा नगर्ने पेट्रोल पम्प बन्द

प्रकाशित मिति: 2017/01/20

माघ ७, काठमाडौं । मुलुकभर सञ्चालनमा रहेका पेट्रोल पम्पले पूर्वाधार निर्माणको मापदण्ड पूरा नगरे नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आपूर्ति बन्द गर्ने भएको छ। निगमले तयार गरेको पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीको छैठौं संशोधन २०७३ मा पम्पस्थलमा पूर्वाधारका नयाँ सर्त र मापदण्ड तयार गर्दै कार्यान्वयन नगर्नेलाई चार महिनामा कारबाही अघि बढाउने जनाएको छ।

अहिले मुलुकभर पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल बेच्ने करिब १४ सय पम्प छन्। पेट्रोलियम पदार्थ बिक्रीस्थलमा कार्यालय, बिक्री कक्ष, पिउने पानी, अपांगमैत्री शौचालयसहित महिला र पुरुषको लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था हुुनुपर्ने बाध्यात्मक व्यवस्था नियमावलीमा गरिएको छ। चार महिनाभित्र मापदण्ड पूरा नगर्ने साधारण बिक्रेतालाई नियमित रुपमा उपलब्ध गराउँदै आएको परिणामको ५० प्रतिशत पेट्रोलियम पदार्थ आपूर्ति रोक्ने र त्यसपछि दुई पटकसम्म सचेत गराउने नियमावलीमा उल्लेख छ। त्यसो गर्दा पनि पूरा नगरे निगमले पेट्रोलियम पदार्थ आपूर्ति रोकी बिक्रेता खारेज गर्न सक्ने प्रावधान संशोधित बिक्रेता नियमावलीमा छ।

त्यसैगरी नमुना मापदण्डको नयाँ मापदण्ड, पुराना पम्पलाई पनि नयाँ सर्त राखेको छ। पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीको छैठौं संशोधन २०७३ कार्यान्वयनमा नआउँदै व्यवसायीले संशोधन गर्न माग गरेका छन्। सरोकारवालासँग छलफल र सुझाव नै नलिई एकलौटी ढंगले संशोधन गरेको भन्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले अहिले थप गरिएका केही प्रावधान हटाउन माग गरेको छ।

तपाईंको बिचार