Thursday, October 19, 2017

राष्ट्रिय उपभोक्ता मञ्चद्वारा ग्यासको मूल्यवृद्धि फिर्ता गर्न माग

प्रकाशित मिति: 2017/02/02

माघ २०, काठमाडौं । खाना पकाउने ग्यासमा गरिएको मूल्य बृद्धि फिर्ता गर्न राष्ट्रिय उपभोक्ता मञ्चले सरकारसँग माग गरेको छ । मूल्य बृद्धि अनुचित भएको र यसबाट आम उपभोक्ता मर्कामा परेको मञ्चको भनाइ छ ।

नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुने खाना पकाउने ग्यासको मूल्यमा २५ रुपैयाँ बृद्धि गरेको थियो । मूल्यवृद्धिसँगै एक सिलिण्डर ग्यासको मूल्य एक हजार ३५० रुपैयाँ पुगेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्री कार्यालय र आपूर्ति मन्त्रालयलाई पत्र लेखेर स्थिर भइरहेको आर्थिक बजारलाई अस्थिर पार्ने काम नेपाल आयल निगमले गरेको आरोप लगाएका छन् ।

अहिले खाना पकाउने ग्यासमा निगमको भनाइअनुसार प्रति सिलिण्डर १६२ रुपैयाँ घाटा छ भने अहिले पनि पेट्रोल, मट्टितेल र हवाइ इन्धनमा ठूलो नाफा छ । बिगत दुई वर्षदेखि अत्याधिक नाफामा चलिरहेको निगमले बिगतमा २०० रुपैयाँसम्म घाटामा बेच्न सकिने खाना पकाउने ग्यासमा अहिले मूल्य बढेको बहानामा मूल्य बढाउनु आम उपभोक्तालाई चरम शोषण गरी कर्मचारीलाई बोनस बाँड्ने षडयन्त्र बाहेक अरु केही नभएको जनाईएको छ । 

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य गत डिसेम्बरदेखि अहिलेसम्म प्रतिव्यारेल ५० देखि ५२ डलरको हाराहारीमा स्थिर रहेको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्यो भन्ने तर्क आफैमा खण्डनयोग्य रहेको मञ्चको भनाइ छ ।

तपाईंको बिचार