Monday, September 25, 2017

अब ‘पिक आवर’मा पनि लोडसेडिङ नहुने माथिल्लो तामाकोशी सम्पन्नपछि निर्यात गर्ने सम्भावना

प्रकाशित मिति: 2017/04/04

चैत २२, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले अब देशभर ‘पिक आवर’ मा पनि लोडसेडिङ नहुने बताएका छन् । मंगलबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा घिसिङले अब लोडसेडिङबारे चिन्ता गर्नु पर्ने अवस्था नरहेको भन्दै लोडसेडिङ हटेको घोषणा गरेका हुन्।

प्राधिकरणले विहान ५ देखि ८ बजे र साँझ ५ देखि साढे ८ बजेसम्मलाई पिक आवर मानेको छ । लोडसेडिङ हटाउने अभियानलाई मौसमले समेत साथ दिएकाले केही सहज भएको प्राधिकरणको भनाई छ ।

काठमाडौं, पोखरा र चितवनलाई लोडसेडिङ मुक्त घोषणा गरेको प्राधिकरणले देशका अन्य भागमा भने केही घन्टा विद्युत कटौती गर्दै आएको थियो । 

पत्रकार सम्मेलनमा प्राधिकरण प्रमुख कुलमान घिसिङले अब प्राधिकरण निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न र काठमाडौंका ट्रान्सफर्मर अपग्रेडिङमा केन्द्रित हुने बताए । लोडसेडिङ हटाउन प्राधिकरणले यो वर्ष १५ अर्ब रुपैयाँको बिजुली आयात गरेको जानकारी दिएको छ । गत वर्षको तुलनामा यो वर्ष १ अर्ब रुपैयाँ बढीको विद्युत आयात गरिएको छ । गत वर्ष प्राधिकरणले १४ अर्ब रुपैयाँको बिजुली आयात गरेको  थियो । 

साथै उनले  बिजुली निर्यात गर्ने योजना समेत सार्बजनिक गरेका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजना निर्माण सम्पन्न हुन लागेकोले नेपाललाई चाहिने भन्दा बढी विद्युत उत्पादन हुने भन्दै उनले निर्यातको सम्भावना रहेको बताएका हुन । प्राधिकरणले आगामी शुक्रबार मनाउन लागेको विद्युत दिबसको बारेमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको हो ।

तपाईंको बिचार