Sunday, November 19, 2017

विवादित दु्रतमार्ग अब शिलान्यास हुने

प्रकाशित मिति: 2017/05/21

काठमाडौं । सरकारले यही जेठ १४ गते काठमाडौं–तराई दु्रतमार्ग परियोजनाको शिलान्यास गर्ने भएको छ । नेपाली सेनालाई निर्माण जिम्मा दिइएको ७६ किलोमिटर लामो यो सडक राष्ट्रिय गौरवको आयोजना हो । 

प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालयका अनुसार जेठ १५ गते बाराको निजगढमा प्रधानमन्त्रीले दु्रतमार्गको शिलान्यास गर्नेछन् । चालू आर्थिक वर्षका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको दु्रतमार्गको वास्तविक लागत एकिन नभए पनि करिब १ खर्ब रुपैयाँ हाराहारीको लगानी आवश्यक पर्ने आंकलन छ ।

यसअघि भारतीय निजी व्यवस्थापन कम्पनी इन्टरनेसनल लिजिङ एन्ड फाइनान्सियल कम्पनी (आइएल एन्ड एफएस) लाई दु्रतमार्ग निर्माणको जिम्मा दिन खोजेपछि विवाद भएको थियो । विवादपछि सरकारले आफ्नै लगानीमा सडक निर्माण गर्ने गरी बजेट विनियोजन गरेको हो । तर, आयोजनाको व्यवस्थापनबारे अन्योल कायम रहेपछि सरकारले वैशाख २१ गते मन्त्रिपरिषद्को निर्णयमार्फत नेपाली सेनालाई निर्माण र व्यवस्थापन जिम्मा दिएको छ । बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्ने गरी दु्रतमार्ग निर्माण हुँदैछ । नेपाली सेनाले नै यसअघि दु्रतमार्गको ट्रयाक खनिसकेको छ । तराई–मधेसलाई राजधानी काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो सडकका रूपमा दु्रतमार्ग निर्माण हुँदैछ ।

सडक अन्तर्राष्ट्रिय गुणस्तर कायम हुनेगरी बनाईँदैछ । हाल नेपालमा बनेपा–बर्दिबास र तीनकुने–सूर्यविनायक सडकमात्रै अन्तर्राष्ट्रिय मापदण्डअनुसारका छन् । आइएलएन्डएफएसले निर्माण–स्वामित्व–सञ्चालन र हस्तान्तरण ९बुट० मोडलमा आयोजना बनाउन निकै महँगो दर प्रस्ताव गरेपछि सरकार आफैंले आयोजना बनाउनुपर्ने दबाब बढिरहेको छ ।

काठमाडौंदेखि निजगढको ७६ किमी नयाँ सडक निर्माण र निजगढबाट पथलैयाको १८ किमी सडकलाई स्तरोन्नति गरी जम्मा ४ लेनको द्रुतमार्ग निर्माण गर्ने गरी २०६६ कात्तिक २३ गतेदेखि आयोजना निर्माणको काम थालिएको थियो ।  ट्र्याक र मुआब्जा वितरणमा मात्रै अहिलेसम्म २ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ । काठमाडौं, ललितपुर, मकवानपुर र बारा गरी ४ जिल्ला जोड्ने दु्रतमार्ग बनेपछि नेपालको आर्थिक परिसूचकमै सुधार हुने अपेक्षा राखिएको छ ।

तपाईंको बिचार