Sunday, November 19, 2017

नेपाल–चीन परामर्श संयन्त्र बैठक

प्रकाशित मिति: 2017/06/20

असार ६, काठमाडौं । नेपाल–चीन परामर्श संयन्त्रको ११ औं बैठक आजबाट काठमाडौंमा सुरु भएको हो । दुई मुलुकका परराष्ट्र सचिव नेतृत्वको छलफलमा नेपाल चीनबीचको आर्थिक सहयोग, लगानी, व्यापार, दुबै देशबीच सडक र हवाई मार्गबाट सम्पर्क विस्तारलगायत विषयमा परामर्श भएको थियो ।

चार बर्षपछि भएको बैठकमा नेपाल–चीन सम्बन्धका साथै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल भयो । सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा पारस्परिक हित र लाभका क्षेत्रमा सहकार्य गर्दै जाने सहमति भएको छ ।

बैठकमा ११ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका सचिव कुङ् सेन युले गरेका हुन् भने २० सदस्यीय नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव शंकरदास मैनालीले गरेका छन् । वैठकमा संघीय मामिला तथा स्थानीय विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, गृह अर्थ, वाणिज्य, उर्जा, कृषि, आपूर्ती, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरु सहभागी रहेका थिए ।

तपाईंको बिचार