Sunday, November 19, 2017

चिनियाँ कम्पनीले निमार्ण गरेको गौतमबुद्ध विमानस्थलको ठेक्का रद्द गर्ने अन्तिम तयारी

प्रकाशित मिति: 2017/08/06

साउन २२ काठमाडौं । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा निर्माणको जिम्मा पाएको चिनिया नर्थ वेस्ट सिभिल एभिएसन कम्पनीसँग विमानस्थल निर्माण परियोजनाले ठेक्का प्रक्रिया रद्ध गर्ने अन्तीम तयारी गरेको छ ।

निर्माणको काममा सन्तोसजनक सुधार नभए ठेक्का रद्ध गर्नेसम्मको चेतावनीपत्र यस अगाडी पटक–पटक बुझाएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण परियोजनाले जनाएको छ । निर्माण कम्पनी के कारणले काम गर्न सकिरहेको छैन अहज के मा परेको छ ? भनेर कारण देखाउन पटक–पटक पत्राचार गरे पनि उनीहरुले कुनै सुधारका काम गर्न नसकेको जनाइएको छ । 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणमा ढिलासुस्ती भएको जनगुनासो बढेसंगै विभिन्न क्षेत्रबाट परियोजनामाथि निश्चित समयभित्र निर्माण कार्य सक्न दबाव आइको छ । स्थानीय सप्लायर्सहरुलाई रकम भुक्तानी नगरेको बजारमा गुनासो बढी आएपछि उनीहरुसँग काम गर्न कोही ईच्छुक नहुँदा चिनियाँ कम्पनीले लेवर लगायत आवस्यक कच्चा पदार्थसमेत जुटाउन सकिरहेको छैन । मासिक ६ प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा पछिल्लो समय चिनियाँ कम्पनीले शुन्य दशमलव ५ प्रतिशतका दरले मात्र काम गरिरहेको छ । दैनिक कम्तीमा ५ सय  जना मजदुरले काम गरेको हुनुपर्ने र त्यही अनुपातमा हेबि इक्युमेन्ट सञ्चालनमा आएको हुनुपर्नेमा ३० र ३५ जना मजदुरबाट मात्र काम भएको भइरहेको छ ।

विमानस्थल निर्माणका लागि सह कन्ट्याक्टरका रुपमा नेपाली कम्पनी नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिलाई दिएकोमा लेनदेनमा विवाद भएपछि चिनियाँ कम्पनी आफैले विमानस्थल निर्माणको काम विगत पाँच महिनादेखि गर्दै आएको हो । काम सुस्त भएपछि चिनियाँ कम्पनीसँग ठेक्का तोडन परियोजनाले डकुमेन्टहरु तयार गरिरहेको जनाएको छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माणकार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले गर्दै आएको छ । (३१ डिसेम्बर २०१४) का दिन तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थल निर्माण कार्यको शिलान्यास गरेका थिए । चिनियाँ कम्पनीसँग २०१७ डिसेम्बर ३१ सम्म निर्माण कार्य सक्नुपर्ने सम्झौता भएको थियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्पका रुपमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल छिटो निर्माण कार्य सम्पन्न गर्न भैरहवाबासीले माग गरेका छन् ।

 

तपाईंको बिचार