Sunday, November 19, 2017

ढल्केबर सब–स्टेसन बनेपछि भारतबाट थप बिजुली ल्याउने

प्रकाशित मिति: 2017/08/06

काठमाडौं । निमार्णाधिन धनुषा–ढक्केबर नेपाल विद्युत प्राधिकरणको सब–स्टेसन सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)ले कात्तिकमा काम सक्ने जनाएको छ । 

ऊर्जामन्त्री महेन्द्र बहादुर शाही, सचिव अनुप कुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उच्च स्तरीय टोलीले निर्माण स्थलको स्थलगत निरीक्षण गरि ठेकेदार कम्पनीलाई निर्माण सक्न चार बुँदे निर्णय गराएका हुन् । सोहि क्रममा सिसिपिजीले सब स्टेसन निर्माण १७ कात्तिक सक्ने जनाएको हो। 

ठेकेदारको प्रतिबद्धतापछि आउँदो हिउँदमा लोडसेडिङ नबल्झाउन भारतबाट थप विजुली ल्याउन सुनिश्चित भएको मन्त्री शाहीले बताए। सब–स्टेसन बनेपछि भारतबाट थप १०० मेगावाट विजुली अन्य ठाउँको भन्दा सस्तो मूल्यमा ल्याउन सकिन्छ। ‘लोडसेडिङसँग जोडिएको सब–स्टेसनलाई द्रूत गतिमा अघि बढाएर तोकेको समयमा सक्नै पर्छ, उनले भने काम गर्दा आउने समस्या आयोजनाले समाधान नगरेमा तत्काल खबर गर्नुहोस्, त्यसलाई समाधान गर्न हामी तयार छौं ।’ 
 
मन्त्री, सचिव सहित उच्च अधिकारीको भ्रमणमा भने कम्पनीले काम रोक्ने दावी दोहोर्याउन सकेन। आयोजना, परामर्शदाता र ठेकेदारले काम रोकिनुमा एक–अर्कालाई आरोप लगाउन थालेपछि आक्रोशित बनेका सचिव उपाध्यायले भने ‘किन काम रोकिएको, कस्का कारणले निर्माण ढिला भयो, एकले अर्कोलाई आरोप लगाएर समस्या समाधान हुन्छ । काम अझै पनि ढिला भयो भने हामीलाई मान्य हुँदैन, जस्तो सुकै कारबाही गर्न तयार छौं।’ त्यसपछि आयोजनाको परामर्शदाता पावर ग्रिडले अन्तिम ड्रइङ आइतबारभित्रमा दिने, गरेको कामका बिल सिसिपिजीले उपलब्ध गराउने र परामर्शमदाताले रुजु गरि भुत्तानीका लागि एक हप्ताभित्रमा सिफारिस गर्ने लगायतका निर्णय भएका छन्।  
 
प्राधिकरणले गत वर्ष हिउँदमा ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर प्रसारण लाईन मार्फत १४० मेगावाटसम्म विजुली आयात गरेको थियो। आवश्यकता बमोजिम भारतबाट ३६० मेगावाटसम्म  बिजुली ल्याइएको थियो। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गरेको कामको भुक्तानी तत्काल दिने भन्दै यो या त्यो बहानामा काम रोक्न नमिल्ने बताएका थिए।  अहिले सब–स्टेसनका उपकरण सम्पूर्ण आइसकेका छन्। सिभिलतर्फको ९० प्रतिशत काम सकिएको छ। इलेक्ट्रिकल उपकरण जडान पनि ९० प्रतिशत सकिएको आयोजनाले जनाएको छ।
 

तपाईंको बिचार